भ्रष्टाचारमा हेभी वइटका आरोपीदेखि बिचौलिया हाल प्रहरी थुनामा

Bhugolpark

३० बैशाख, २०८०,१४:५८

वैशाख ३०,काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा जोडिएका भ्रष्टाचारमा हेभी वइटका आरोपीदेखि बिचौलिया हाल प्रहरी थुनामा छन् । १२ चैतदेखि धमाधम पक्राउ पर्न थालेका आरोपीलाई काठमाडौं प्रहरीले विभिन्न प्रहरी इकाईको थुनामा राखेर अनुसन्धान अघि बढाएको छ । 

पक्राउ पर्नेमध्ये सबैभन्दा उच्त तहका व्यक्ति पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसरको हिरासत र सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । सो प्रकरणमा जोडिएर प्रहरी थुनामा पुग्ने खाँण सबैभन्दा उच्च तहाका नेता हुन् भने पाण्डे सबैभन्दा उच्च तहका कर्मचारी । 

खाँण गृहमन्त्री भएका बेला गृहसचिव पाण्डे थिए । सोही बेला उनीहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहसँग मिलोमतोमा काम गरेको खुलेपछि पक्राउ परेका हुन् । 

खाँण मन्त्री हुँदा चितवनको एक विद्यालयमा विद्यार्थीलाई पढाउन छाडेर निजी सचिव हुन पुगेका नरेन्द्र केसीसमेत पक्राउ परेका छन् । उनीबाहेक पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी–४ का सानु भण्डारी, पाँचथर फिदिमका टंककुमार गुरुङ, मोरङ पथरी–१० का सागर राई र अर्घाखाँचीका सन्दीप रायमाझी, दाङका सन्देश शर्मा, काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी गरी १२ जना पक्राउ परिसकेका छन् । 

उनीहरू विभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन् । सबैभन्दा पहिला केशवप्रसाद दुलाल, सानु भण्डारी र टंककुमार गुरुङ पक्राउ परेका थिए । उनीहरू १२ चैतमा पक्राउ परेका हुन् । यो गिरोहको मुख्य योजनाकार नै दुलाल र भण्डारी हुन् ।

उनीहरूकै बयान र मोबाइलमा भेटिएको प्रमाणका आधारमा प्रहरी पूर्वगृहमन्त्रीदेखि गृहसचिवसम्म पुग्न सफल भएको हो । प्रहरीले उनीहरूमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । 

यसरी पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न अझै प्रहरीसँग दुई हप्ताको समय छ । सो प्रकरणमा जोडिएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् । त्यस्तै, इन्द्रजित राईका छोरा निरज राई पनि फरार छन् । 

प्रहरी स्रोतका अनुसार रायमाझी भारत दिल्ली पुगेको आशंका गरिएको छ । उनको खोजीका लागि प्रहरीले भारतीय प्रहरीसँगसमेत समन्वय गरिरहेको छ । 

प्रहरीले अनुसन्धान गर्न पाएको ६० दिनको समयसीमा करिब सकिन लाग्दा अनुसन्धानमा समेत तीव्रता दिएको छ । सानु भण्डारी र केशव दुलालसँग भेटिएको प्रमाण र बयानका आधारमा अनुसन्धान थालेको प्रहरी हाई प्रोफाइल व्यक्तिसहित १२ जनालाई पक्राउ गर्न सफल भएको हो । 

बुधबार मात्रै पक्राउ परेका पूर्वगृहमन्त्री खाँणसँगको बयान लिन भने अझै बाँकी छ । 

खाँणको बयानका आधारमा थप केही हाई प्रोफाइल व्यक्ति पक्राउ पर्न सक्ने प्रहरीको दाबी छ । खाँण पक्राउ परेलगत्तै उनकी श्रीमती मञ्जु खाँण सम्पर्कविहीन भएकी छिन् । बालकृष्ण खाँणको मोबाइल फोन फर्म्याट भएको पाएपछि प्रहरीले डाटा रिकभरका लागि प्रहरीको फेरेन्सिक ल्याबमा पठाएको छ । 

प्रहरी स्रोतका अनुसार उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाको भूमिकासमेत शंकास्पद देखिएको छ । प्रहरी थापालाई पक्राउ गर्नुपर्ने निष्कर्षतर्फ पुगेको छ । 

त्यस्तै, पक्राउ परेका सानु भण्डारीसहितका केही व्यक्तिले गृहसचिव हुँदा हालका अख्तियार प्रमुख प्रेम राईसमेतलाई पैसा बुझाएको बयान दिएपछि उनीमाथि पनि प्रमाण जुटाउन प्रहरी लागिपरेको छ । 

पक्राउ परेका अरोपीले दिएको बयानका आधारमा पक्राउ गुर्नपर्ने प्रमाण नदेखिएका हाई प्रफाइल आरोपीमाथि समेत प्रहरीले सम्पत्ति शुद्धीकरणमा छानबिनका लागि विभागलाई पत्राचार गर्ने तयारी गरेको छ ।

भुटानी शरणार्थी प्रकरणका दोषी जीसुकै भएपनि उनीहरूलाई कडाभन्दा कडा कर्वाही गर्न वर्तमान सरकारले खुट्टा नकमाओस् भन्ने कामना भूगोल पार्क परिवार गर्दछ ।


200 Views

Comments