शरणार्थी प्रकरणमा “हेभी वइट” दलका नेता तानियसँगै वाकयुद्धमा ओली र प्रचण्ड

Bhugolpark

२६ बैशाख, २०८०,१५:४५

वैशाख २६,काठमाडौं । वहुदलवादी दलहरू चरम भ्रष्टचारमा चुर्लुम्म डुबेका कुराको पुष्टि माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीले शरणार्थी प्रकरणलाईं लिएर “यो त ट्रेलर मात्र हो, फिलिम त आउँन बाँकी नै छ” भन्ने अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएलगत्तै प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कुनै भ्रष्टचारीलाईं संरक्षण नगर्ने भन्दै “प्रधानमन्त्री जी तपाईंको फिलिम हलमा कहिले आउँछ ? हामी हेर्न आतुर छौ” भ्रष्टाचारको फाइल अविलम्व खोल्न सामाजिक संजाल मार्फत चुनौति दिनुले थप उजागर भएको छ ।

कांग्रेसका सांसद तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भ्रष्टाचारीविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताएका छन् । पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने पनि उनीहरूको आग्रह थियो ।

आज संसदमा बोल्दै सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताए । 'यहिँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु,' उनले भने, 'भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा 'निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न' भन्ने दृष्टिकोण लिनुपर्ने शर्माको भनाइ रहेको थियो ।

नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको विभिन्न पार्टीको हेभी वइटका नेताहरूनै एक पछि अर्को तानिएका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल,एमाले नेता एवं सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।

पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोलाई प्रहरीलाई सुरक्षित राखेको र अनुसन्धान जारी राखेको जनाएको छ ।


176 Views

Comments