कर्णालीका मुख्यमन्त्रीले पुन: पाए विश्वासको मत

Bhugolpark

१५ बैशाख, २०८०,१८:०९

वैशाख १५, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुन: विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मात्रै परेको छ । उनले नेकपा एमाले र राप्रपा बाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् । उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो ।

यसअघि पहिलोपटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए । त्योबेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो । राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए । तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो ।

भूगोल पार्कको तर्फबाट तेस्रो पटक विश्वासको मत पाउँन सफल कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाईं हार्दिक बधाईं एवं कार्यकाल सफलताको शुभकामना साथै उहाँको कार्यकालमा भौगोलिक दृष्टिकोणले अति पिछडिएको कर्णाली प्रदेशमा जनअपेक्षाअनुसार द्रुत्तर गतिमा विकास हुने अपेक्षा गरिएको छ ।



198 Views

Comments