गण्डकीका मुख्यमन्त्रीबाट शपथ, २ मन्त्री नियुक्त साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबाट पनि शपथ, ३ मन्त्री नियुक्त

Bhugolpark

१५ बैशाख, २०८०,१७:१३

गण्डकीका मुख्यमन्त्रीले लिए शपथ, २ मन्त्री

वैशाख १५, गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शुक्रबार उनलाई पद तथा गोपनियताका शपथ खुवाएका हुन्।

सपथ लिएलगत्तै मुख्यमन्त्री पाण्डेले २ मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारी र माओवादी सांसद सुशीला सिम्खडालाई उनले मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको जिम्मेवारी भने तोकिएको छैन।

पाण्डे संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई माओवादी केन्द्र र मनाङबाट निर्विरोध निर्वाचित भएर नेकपा (एकिकृत समाजवादी) प्रवेश गरेका दीपक मनाङेको समर्थन छ।

मुख्यमन्त्री पाण्डेद्वारा माल्यार्पण

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उहाँले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको हो । मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि सालिकमा माल्यापर्ण गर्नुभएको थियो । माल्यार्पण समारोहमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबाट शपथ  ३ मन्त्री नियुक्त

वैशाख १५, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई शपथ गराउनुभएको हो । बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)सहित दलको समर्थनमा सरकारको नेतृत्व गर्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो । प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि प्रदेश प्रमुखले मङ्गलबार बिहीबार अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो । गत माघ ५ गते संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम तत्कालीन अवस्थामा मुख्यमन्त्रीले पहिलो पटक विश्वासको लिँदा उहाँको पक्षमा ५७ मत परेकामा गत सोमबार दोस्रो पटक विश्वासको मत लिँदा भने पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)सहित आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य ५३ जनाको समर्थनसहित बिहीबार अपराह्न मुख्यमन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियो । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन-तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद गरी ५३सांसदको समर्थन रहेको छ ।

तीन बिनाविभागीयमन्त्रीको पनि शपथ यस्तै नवनियुक्त मुख्यमन्त्री चौधरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आफ्नो मन्त्रिमण्डलमा तीन मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष आजै सिफारिस गर्नुभयो । सत्ता गठबन्धन दलका तर्फबाट मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई बिना विभागीयमन्त्रीमा नियुक्त गर्नुभयो । नव नियुक्त मन्त्रीहरुलाई पनि संविधानको धारा १७२ बमोजिम आजै सोही समारोहमा प्रदेश प्रमुख शेरचनले शपथ गराउनुभयो ।

गण्डकीका मुख्यमन्त्रीबाट शपथ, २ मन्त्री नियुक्त साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबाट पनि शपथ,३ मन्त्री नियुक्त

भूगोल पार्कको तर्फबाट शपथग्रहण गर्नुभएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत आज नियुक्त हुनुभएका दुवै प्रदेशका मन्त्रीहरूलाईं हार्दिक बधाईं एवं शुभकामना । दुवै मुख्यमन्त्रीहरूको शासन कालमा गण्डकी र लुम्बिनी प्रदेशमा अभूतपूर्व आर्थिक समृद्धि हुने विश्वास गरिएको छ ।



241 Views

Comments