“नेतृत्वमा आलोपालो हुन्छ”, मुख्यमन्त्री नियुक्त पाण्डेले

Bhugolpark

१४ बैशाख, २०८०,१६:३९

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताएका छन् ।

प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ’ पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भने ।

सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए ।

प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उनले बताए । ‘हाम्रो प्रदेशलाई हामी आफैं कसरी सस्टेन गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं । पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं’ उनले भने, ‘कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यान दिन्छौं ।’

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


169 Views

Comments