मधेशमा प्रदेश सरकार पुनर्गठनको तयारी

Bhugolpark

१४ बैशाख, २०८०,१०:४१

वैशाख १४,बारा।बारा- २ को उपचुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जितसँगै मधेश प्रदेशको सत्ता समीकरण फेरिने भएको छ ।

बाराको उपचुनावलाई प्रतिष्ठाको विषय बनाएका जसपा र जनमतको टकरावको प्रभाव प्रदेश सरकारमा देखिने भएको छ । उपराष्ट्रपति र बाराको उपचुनावमा आफूविरुद्ध खडा भएको जनमतलाई मधेश सरकारको नेतृत्व गरिरहेको जसपाले हटाउने तयारी गरेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनले बारामा पराजित भएसँगै जनमतले नैतिकताको अधारमा सरकार छोडनुपर्ने बताए । गठबन्धनमा भएर पनि जनमत उपराष्ट्रपतिदेखि बाराको उपचुनावसम्म जसपाविरुद्ध लागेको उनले बताए । सोही कारण नैतिकताको हिसाबले जनमतले प्रदेश सरकार छोडनुपर्ने उनको भनाइ छ ।

जनमतले दुई/तीन दिनमा सरकार नछाडे मुख्यमन्त्री सरोजकुमार यादवले जनमतबाट मन्त्री बनेकाहरूको राजीनामा माग्ने सुमनको भनाइ छ । जनमतले लोकतान्त्रिक संस्कार बिर्सेर मधेश र मधेशीलाई पहिचान दिलाउने पार्टीविरुद्ध लागेको उनको आरोप छ ।

‘जनमत भर्खर जन्मेर हुर्केको पार्टी हो । तर, राजनीतिक संस्कार बिर्सेर मधेशमा स्थापित पार्टीका अध्यक्षविरुद्ध नै अनावश्यक टिकाटिप्पणीदेखि जातिवादको राजनीतिक गरिरहेको छ,’ सुमनले भने ।

जनमतका प्रदेश संसदीय दलका नेता तथा मन्त्री महेश प्रसाद यादव केन्द्रीय गठबन्धनको निर्णय नआएसम्म सरकार नछोड्ने बताउँछन् । जसपाको कृपाले आफूहरू सरकारमा नरहेको उल्लेख गर्दै उनी भन्छन्, 'हामी सत्ताको लोभी होइनौँ । तर यो सरकार केन्द्रीय गठबन्धनको हिसाबले गठन भएको हो । केन्द्रमा जुन निर्णय हुन्छ, त्यहीअनुसार अगाडि बढ्छौँ ।’

प्रदेशमा जमनतले २ मन्त्रालय पाएको छ । माओवादी केन्द्रले एक मन्त्रालय पाएको छ । यसअघि ४ वटा मन्त्रालय नेकपा एमालेलाई दिइएको थियो । अहिले मुख्यमन्त्रीसहित ४ मन्त्रालय जसपाले राखेको छ ।

जनमतले सरकार छोडे लोसपा र नेकपा एसलाई एक/एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी रहेको जसपाका एक नेता बताउँछन् । कांग्रेसलाई भने एमालेलाई दिएको ४ वटा मन्त्रालय दिने तयारी छ । समर्थन दिए पनि सत्ताबाहिर रहेको कांग्रेस, लोसपा र नेकपा एस पनि सरकारमा जाने तयारीमा छन् ।



192 Views

Comments