गण्डकीमा सरकार गठन आह्वानमा ढिलाइ

Bhugolpark

११ बैशाख, २०८०,१०:३२

वैशाख ११,पोखरा । विश्वासको मत नपाएपछि शनिबारदेखि सत्ताबाट बाहिरिएका खगराज अधिकारी अहिले पनि कामचलाउ मुख्यमन्त्री नै छन् । माओवादी केन्द्रका मन्त्रीहरू खगराज अधिकारी नेतृत्वको सरकाबाट बाहिरिएपछि मुख्यमन्त्री बनेको १०५ दिनमा नै खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिएका थिए ।

सरकार टिकाउन आवश्यक ३१ सांसदको समर्थन उनले पाउन सकेनन् । एमालेका २२ र राप्रपाका दुई सांसदले समर्थन दिँदा कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र निर्वाचिन (पछि नेकपा एस प्रवेश) एकसहित ३५ सांसदले विपक्षमा मत दिए ।

विश्वासको मत नपाएर सरकार गुमाएका अधिकारीको ठाउँमा सरकारको नेतृत्व कसले लिन्छ भन्ने अन्योल छ । कांग्रेस र माओवादीबीच कसले पहिला नेतृत्व गर्ने भन्ने सहमति जुटिसकेको छैन ।

संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते उनी मुख्यमन्त्री बनेका थिए । उनलाई समर्थन गरेको दल बाहिरिएपछि धारा १८८ बमोजिम पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत पाउने सम्भावना नदेखेपछि कतिपयले मुख्यमन्त्री अधिकारीले राजीनामा दिन्छन् भन्ने आंकलन गरेका थिए । तर, खगराजले भने प्रदेशसभा बैठक नै फेस गर्ने निर्णय लिए । कारण, संविधानको धारा १६८ (२) अनुसार उनी मुख्यमन्त्री बनेका थिए । यो उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले विश्वसको मत नपाए स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ भन्ने मान्यताका आधारमा उनले विश्वासको मत लिए ।

यो उपधारा अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे स्वतः मुख्यमन्त्री बन्छन् । उनलाई माओवादी केन्द्रले समर्थन दिए उपधारा ४ अनुसार विश्वासको मत पनि पाउँछन् । यो उपधाराको सरकार पनि ढल्यो भने उपधारा ५ अनुसार पुनः नेतृत्वमा आउन सकिने आशा खगराजमा अहिले पनि छ । सोही कारण उनले विश्वासको मत लिएका हुन् ।

कानुनविद्हरू पनि उपधारा २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि उपधारा ३ अनुसार सरकार गठन हुने बताउँछन् । यसो गर्दा आलोपालो नै भए पनि सुरुमा कांग्रेसले सरकारको नेतृत्व गर्छ । 

तर, माओवादी केन्द्र भने उपधारा २ अनुसार नै पुनः सरकार गठन हुने दाबी गरिरहेको छ । संसदीय दलका नेता हरि चुमानले उपधारा २ अनुसार नै सरकार गठनको सम्भावना बाँकी रहेकाले यही उपधारा अनुसार सरकार गठनको लागि आह्वान हुनुपर्ने बताउँछन् ।

अब प्रदेश प्रमुखले कुन उपधाराका आधारमा सरकार गठनको लागि आह्वान गर्छन् भन्ने चासोको विषय बनेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङ आइतबार काठमाडौंबाट पोखरा फर्किएका छन् । आइतबार उनले प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् । सोमबार उनले सरकार गठनको आह्वान गर्नेछन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्याल प्रदेश प्रमुखले नै आह्वान गर्ने हुँदा कुन उपधाराका आधारमा आह्वान हुन्छ अहिले नै भन्न नसकिने बताए ।



211 Views

Comments