मुगु,३ वैशाख(रासस): मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो ।
आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो । विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिनुभयो । काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गर्नुभएको थियो ।
दुवै जनाको सहमति र साक्षीहरूको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताउनुभयो । सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो ।
Comments