इरानद्वारा युएईका लागि राजदूत नियुक्त

Bhugolpark

२५ बैशाख, २०८१,१६:१८

२२ चैत,काठमाडौं।विगत सात वर्षदेखि तेहरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध इरानले संयुक्त अरब इमिरेट्स (युएई)का लागि आफ्ना राजदूत नियुक्त गरेसँगै पुनः हार्दिकतातर्फ फर्किएको छ । तेहरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।

इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१६ पछि इरानले युएईका लागि पहिलो राजदूत नियुक्त गरेको हो । रियादले एक जना प्रख्यात शिया धर्मगुरूलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीले तेहरानस्थित साउदी दूतावासमा आक्रमण गरेका थिए । त्यसको विरोधमा साउदीले आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानसँगको सम्बन्ध तोडेको थियो । इरान र साउदीबीचको द्वन्द्वले खाडी क्षेत्रको स्थायित्व र सुरक्षालाई खतरामा पार्नाका साथै मध्यपूर्वमा द्वन्द्व बढाएको थियो ।

गत महिना चीनको मध्यस्थतामा साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्नेसम्बन्धी सम्झौता भएको थियो । इरानसँग एक शताब्दीभन्दा लामो समयदेखि व्यापारिक सम्बन्ध रहेको युएईले तेहरानसँगको सम्बन्धलाई पुनः नवीकरण गरेको हो । यसैबीच, साउदी अरब र इरानका शीर्ष कूटनीतिज्ञहरूले भोलि बिहीबार बेइजिङमा वार्ता गर्ने भएका छन् । खाडी क्षेत्रका दुई प्रतिद्वन्द्वी मुलुकले चीनको सक्रियतामा हालै भएको सम्झौता कार्यान्वयन गर्ने नयाँ चरणका योजनाबारे छलफल गर्ने बताइएको छ ।

राजकुमार फैसल बिन फरहान अल साउद र उहाँका इरानी समकक्षी होसेन अमीराबदुल्लाहियानबीच भोलि हुने भेटवार्ता सात वर्षपछिको पहिलो औपचारिक बैठक हुनेछ ।



143 Views

Comments