१६ चैत, काठमाडौं ।भूगोल पार्कको दृष्टिकोणमा बारा २ मा चुनाव लड्नैको लागि चुनावको मुखमा माओवादी पार्टीका प्रभावशाली नेता शिवचन्द्र कुसवाह जनमत पार्टीमा प्रवेश गर्नु, लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने निर्णय गर्नु एवं सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतसँग दोब्बरभन्दा बढी मतले पराजित उपेन्द्र यादव पनि बारा २ मा नै चुनाव लड्नने तयारी गर्नाले बारा २ को उपनिर्वाचनमा मधेशी दलकै प्रमुख नेताहरूबीच रोचक भिडन्त हुने देखिन्छ।
माओवादी पार्टीका प्रभावशाली नेता शिवचन्द्र कुसवाह गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
कुसवाहले अब बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने तयारीमा छन् । आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको बताए ।
सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभयो भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभयो ।
राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गर्नुभएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन् ।उनी सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका थिए।
नेसपाका यादवले २३,५२९ मत ल्याएका थिए भने लोसपाका महतोले २१,५१८ मत पाएका थिए। दुई हजारभन्दा बढी मतको फराकिलो मतान्तरले राजेन्द्र महतो पराजित हुन पुगेका थिए।
प्रखर मधेसवादी नेताको रुपमा पहिचान बनाएका राजेन्द्र महतो ६ महिने मधेस आन्दोलनका सर्वाधिक चर्चित नेताको रुपमा परिचित थिए। चर्को मधेसवादको नारा दिएर २०७४ को निर्वाचनमा धनुषा ३ मा विमलेन्द्र निधिलाई हराउन पुगेका महतो यसपटक आफ्नै गृह क्षेत्र सर्लाहीमा पराजित भएका छन्।
बारा २ मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रभु साह नेतृत्वको आम जनता पार्टीले सक्रियता जनाएको छ । उपनिर्वाचनका लागि मनोनयन दर्ताको दिन नजिकिएसँगै आम जनता पार्टीले सक्रियता बढाएको हो । सो पार्टी सत्ता गठबन्धन आबद्ध दलबाट साझा उम्मेदवार तय गर्नुपर्ने पक्षमा देखिएको छ ।
Comments