योग्य र क्षमतावान सांसदहरूलाई मन्त्री बनाउन गगन-विश्वप्रकाशको पहल

Bhugolpark

१४ बैशाख, २०८१,१०:३१

१४ चैत,काठमाडैं।भूगोल पार्कले देशविदेशको समयसामयिक राजनीतिक, रामाजिक, आर्थिक, पर्यटन, मनोरञ्जन आदि विषयमा समाचार लेखिरहेको छौं।आज हामी नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारमा पार्टीबाट मन्त्री पठाउँदा काम गर्न सक्नेहरूलाई जिम्मेवारी दिन सभापति शेरबहादुर देउवासँग माग गरेका विषय लिएर बएका छौं।

केन्द्रीय कार्यसम्पादन समितिले तय गरेका मापदण्डका आधारमा सातै प्रदेशको प्रतिनिधित्व हुने र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै योग्य र क्षमतावान सांसदहरूलाई मन्त्री बनाउनुपर्नेमा महामन्त्रीद्वय छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने कांग्रेसले निर्णय गरिसकेको छ। गत चैत ६ मा दोस्रो पटक प्रधानमन्त्री दाहाललाई विश्वासको मतसमेत दिइसकेको छ।

तर दाहालले मन्त्रिपरिषद बिस्तार गर्न सकिरहेका छैनन्। सत्ता गठबन्धनका १० दलबीच कसले कति र कुन-कुन मन्त्रालय लिने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ।

सभापति देउवाले सोमबार प्रधानमन्त्री दाहालसँग बालुवाटारमा मन्त्रिपरिषद बिस्तारबारे छलफल गरेपछि उपसभापतिहरू र महामन्त्रीहरूसँग पनि कुराकानी गरेका थिए।

प्रधानमन्त्रीले कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी भएकोले ७ मन्त्रालय दिने कुरा बताएका थिए। कांग्रेसले भने ८ मन्त्रालयको दाबी गरिराखेको छ।

७ मन्त्रालय पाएमा क-कसलाई मन्त्री पठाउने भन्नेबारे अनौपचारिक छलफल भए पनि कांग्रेसले औपचारिक छलफल गरिसकेको छैन।

अहिलेसम्म भएका अनौपचारिक छलफलमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने समझदारी बनेको छ। तर खड्का उपप्रधानसहित कुन मन्त्री बन्ने निश्चित भइसकेको छैन। सत्ता गठबन्धनमा कुन दलले कुन मन्त्रालय लिने सहमति हुनै बाँकी छ।

सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले पदाधिकारीबाट उपसभापति धनराज गुरूङलाई पनि मन्त्री बनाउनुपर्ने सुझाव दिएका छन्। स्याङ्जा २ बाट धनराजले चुनाव जितेका थिए।

साथै सहमहामन्त्री जीवन परियारलाई पनि मन्त्री बनाउन महामन्त्रीद्वयले पहल लिएका छन्। सहमहामन्त्री परियार कांग्रेसमा दलित समुदायबाट एक मात्र सांसद हुन्। कास्कीका उनी समानुपातिकतर्फबाट सांसद भएका थिए।

यस्तै महिलातर्फ सीता गुरूङलाई मन्त्री बनाउनुपर्ने पनि महामन्त्रीद्वयको भनाइ छ। गुरूङले गत मंसिर ४ मा भएको चुनावमा तेह्रथुमबाट जितेकी थिइन्। कांग्रेसमा प्रत्यक्षतर्फ चुनाव जित्ने उनी एकमात्र महिला सांसद हुन्।

बाजुराबाट चुनाव जितेका सहमहामन्त्री बद्री पाण्डे, काठमाडौं ५ बाट चुनाव जितेका केन्द्रीय सदस्य प्रदीप पौडेल र मोरङ १ बाट चुनाव जितेका डिगबहादुर लिम्बुलाई पनि यसपालि मन्त्री बनाउन महामन्त्रीद्वयले सभापति देउवासँग कुराकानी गरेका छन्।

स्वास्थ्य मन्त्रालय कांग्रेसले लिएर प्रदीपलाई जिम्मेवारी दिन सके राम्रो हुनेसमेत उनीहरूको भनाइ थियो।

महामन्त्री थापा र शर्माले सभापति देउवासँग सोमबार धुम्बाराहीमा पनि उनीहरूलाई मन्त्री बनाउन आग्रह गरेको कांग्रेसका एक पदाधिकारीले सञ्चारकर्मीलाई बताए।

‘चुनाव जितेर आएका सांसदहरू सबै योग्य र क्षमतावान नै हुनुहुन्छ तर यसपालि मन्त्री पठाउँदा प्रदेशको प्रतिनिधित्व हुने र समावेशी सिद्धान्तलाईसमेत ध्यानमा राखेर काम गर्न सक्ने क्षमतावान र नयाँ अनुहारलाई पठाउनुपर्छ भनेर महामन्त्रीद्वयले सभापतिसँग कुरा राख्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘सभापतिले सबैसँग सल्लाह गरेर मन्त्री छान्ने भनिरहनुभएको छ।’

सभापति देउवाले अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने संकेत गरेको पनि ती पदाधिकारी दाबी गर्छन्। महत समानुपातिक तर्फबाट सांसद बनेका थिए।

७ मन्त्रालय पाएको खण्डमा सभापति देउवाले आफू पक्षलाई ५ मन्त्रालय राखेर संस्थापनइतरलाई २ मन्त्रालय दिने तयारी गरेका छन्। सभापति देउवा पक्षले कञ्चनपुर २ बाट चुनाव जितेका केन्द्रीय सदस्य नारायणप्रकाश साउद (एनपी) लगायतलाई पनि मन्त्री बनाउने तयारी गरेका छन्।

कांग्रेसले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक राखे पनि स्थगित गरेको थियो।

आज अपराह्न दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति बनेमा कांग्रेसले तत्काल बैठक गरी मन्त्रीहरूको नाम टुंगो लगाउने पनि ती पदाधिकारी बताउँछन्।



146 Views

Comments