ट्रम्प र पुटिनको बारेमा झूटा तस्बिर सामाजिक सञ्जालमा छापछापति

Bhugolpark

६ बैशाख, २०८१,१४:३४

१० चैत,काठमाडौं।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् ।

पूर्वराष्ट्रपति ट्रम्प स्वयम्ले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उहाँलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका हुन् । नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उहाँलाई कारागारमा हालिएका अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ गरिएका हुन् ।

नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन् । काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन् । मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्ट बताउनुहुन्छ ।

मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उहाँको तर्क छ । उहाँका अनुसार यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्नेछ । उपकरण प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उहाँ बताउनुहुन्छ ।



75 Views

Comments