को बन्लान प्रहरीमा नयाँ आईजीपी, पहिलोपटक महिला प्रतिस्पर्धामा

Bhugolpark

६ बैशाख, २०८१,१०:३८

९ चैत,काठमाडौं।भूगोल पार्कले समयामयिक विषयमा देश विदेशको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुल, पर्यटन, मनोरञ्जन आदि विधामा पाठकहरूलाई दिनहु समाचार प्रबाह गरिरहेको छ ।

आज भने हामी दुई दिनपछि नेपाल प्रहरी महानिरीक्षक नयाँ आईजी (आईजीपी) पाउँदैछ भन्ने बारेमा समाचार लेख्न गइरहेका छौं।हालका आईजी धीरजप्रताप सिंहसँगै उनका ब्याची एआईजीहरू सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी ३० वर्षे सेवा अवधिका कारण चैत १० गतेदेखि अनिवार्य अवकाशमा जाने भएकोले भर्खरै एआईजीमा बढुवा भएका पाँच जना मध्येबाट एकजना नेपाल प्रहरीको ३० औं आईजीका लागि बढुवा हुनेछन्।

त्यसपछि रिक्त आईजी पदका लागि सरकारले एक जनालाई बढुवा गर्नेछ। भर्खरै एआईजीमा बढुवा भएका बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्येबाट एकजना नेपाल प्रहरीको ३० औं आईजीका लागि बढुवा हुनेछन्।

यी पाँच जनामध्ये एकजना यस्ता व्यक्ति हुनेछन् जो एआईजीको फुली लगाएको दुई दिनपछि नै आईजीको फूली लगाउने भाग्यमानी हुनेछन्। अर्को रोचक पक्ष त के भने नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी अधिकृत किरण बज्राचार्य आईजीको प्रतिस्पर्धामा छिन्। यसअघिसम्म नेपाल प्रहरीले आईजीको प्रतिस्पर्धी महिलासमेत पाएको थिएन।

अर्घाखाँचीका बसन्त कुवँर पहिलो नम्बरमा एआईजी बढुवा भएका छन्। डीआईजी बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै थिए। पूर्व महान्यायाधीवक्ता तथा गण्डकी प्रदेशको प्रदेश प्रमुखसमेत भइसकेका बाबुराम कुँवरका सहोदर भाइ हुन् बसन्त। कुँवरको कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ।

मधेस प्रदेश प्रहरी प्रमुख भएर काम गरेका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकोसमेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्। एसपीमा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्।

उनीपछि दोस्रो नम्बरमा बढुवा भएका राई लामो समय सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन्। ३० वर्षे प्रहरी सेवा अवधिको दुई तिहाई अर्थात् २० वर्षभन्दा बढी राईले बिनाबर्दी काम गरेका छन्। नेपाल प्रहरीको आतंकवाद तथा अन्तरदेशीय अपराधहरुको अनुसन्धान गर्ने विशिष्टकृत इकाई विशेष ब्यूरोमा दुई दशकभन्दा बढी रहेर काम गरेका राईसँग आतंकवाद तथा प्रतिआतंकवादसम्बन्धी राम्रो ज्ञान छ।

लामो समय बिना बर्दी काम गरेका राईले एसपी हुँदा भने बाँके जिल्लाको इन्चार्ज भएर काम गरेका थिए। एसएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरेका छन्। केन्द्रीय प्रवक्तासमेत भएर काम गरेका उनले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रुपमा पनि काम गरेका छन्। तुलनात्मक रुपमा उनी शक्तिकेन्द्र कम धाउने प्रहरी अधिकृतको रुपमा चिनिन्छन्।

तेस्रो नम्बरमा बढुवा भएका थापाको माओवादीका नेताहरुसँग निकट सम्बन्ध रहेको बताइन्छ। थापाको अन्य दलका नेता तथा शक्तिकेन्द्रहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ। चितवन जिल्लाको इन्चार्ज भएर काम गरेकाले उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ।

हाल बागमती प्रदेश प्रहरी प्रमुखको रुपमा रहेका थापाले यसअघि प्रबन्ध महाशाखाको डीआईजी भएर काम गरेका थिए। एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर पनि उनले काम गरेका थिए। अन्य चार प्रतिस्पर्धी भन्दा ६ महिनापछि भर्ना भएकाले अहिले आईजी नभएको अवस्थामा पनि उनको आईजी हुने सम्भावना भने जिवितै रहन्छ।

चौथो स्थानमा बढुवा भएका ज्ञवाली पनि आईजीको बलियो प्रतिस्पर्धी हुन्। माओवादी केन्द्रका नेताहरुसँग ज्ञवालीको राम्रो सम्बन्ध रहेको बताइन्छ। पूर्वआईजी ठाकुर ज्ञवालीका सहदोर भाइ श्यामलाल आईजी भएको अवस्थामा दाजुभाई नै आईजी बनेर नेपाल प्रहरीमा पनि इतिहास बन्नेछ।

कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका ज्ञवाली कमाण्ड कन्ट्रोलमा राम्रो मानिन्छन्। एसएसपी हुँदा जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमासमेत ज्ञवालीले काम गरेका थिए। डीआईजी भएपछि कोशी प्रदेश प्रहरी प्रमुख हुनुभन्दा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालको प्रमुखको रुपमा ज्ञवालीले काम गरेका थिए।

एसपी हुँदा रुपन्देही जिल्लाको कमाण्ड गर्नुका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेरसमेत काम गरेको अनुभव ज्ञवालीसँग छ।



132 Views

Comments