स्ववियु चुनावमा अनेरास्ववियुको वर्चश्व, देशभरका २४३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक

Bhugolpark

७ चैत्र, २०७९,१०:४८

अनेरास्ववियु १०६, नेविसंघ ७९, अखिल क्रान्तिकार ४७, नेकपा (एस) अनेरास्ववियु ५, अखिल क्रान्तिकार (विप्पल) ४, जसपा, नागरिक उन्मुक्तिनिकट विद्यार्थी संगठन र स्वतन्त्रले एक एक क्याम्पसमा जित हात पारेका छन् ।

७ चैत,काठमाडौं।भूगोल पार्कले ५ चैतमा भएको त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) चुनावको मतपरिणाम आउनेक्रम जारी रहेको समाचार लिएर आएको छ। सोमबार रातिसम्म देशभरका २४३ क्याम्पसको अन्तिम मतपरिणाम आएको छ ।

मिनि संसदीय चुनावमा हेरिने स्ववियु चुनावमा सोमबार रातिसम्मको परिणामले नेकपा एमालेनिकट अनेरास्ववियुको वर्चश्व देखिएको छ । हालसम्म परिणाम आएका क्याम्पसमध्ये १०६ क्याम्पसमा सभापति जितेर अनेरास्ववियु सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको छ । 

नेपाली कांग्रेसनिकट नेविसंघले अनेरास्ववियुलाई पछ्याइरहेको छ । हालसम्म नेविसंघ ७९ क्याम्पसमा सभापति जितेर दोस्रो स्थानमा छ । 

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकार ४७ क्याम्पसमा जितका साथ तेस्रो स्थानमा छ भने नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले पनि ५ क्याम्पसमा जित हात पारेको छ । विप्पल नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले ४ क्याम्पसमा जित हात पार्दा जसपानिकट, नागरिक उन्मुक्तिनिकट र स्वतन्त्र एक एक क्याम्पसमा जित हात पारेका छन् । 

देशका ठूला क्याम्पसमध्ये त्रिवि केन्द्रीय क्याम्पस, शंकरदेव क्याम्पसमा नेविसंघले जित हात पार्दा पुल्चको इन्जिनियरिङ, ल क्याम्पसमा अनेरास्ववियुले जितेको छ । 

केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया नै सुरु भएको छैन भने केहीमा प्रक्रिया सुरु भएर पनि चुनाव रोकिएको छ । त्रिविले ती क्याम्पसहरूमा यही १२ चैतसम्म चुनाव गराउन निर्देशन दिइसकेको छ । यसरी चुनाव रोकिनेमध्ये पोखराको पीएन क्याम्पस सबैभन्दा ठूलो क्याम्पसमध्येको एक हो । यता काठमाडौं उपत्यकाका आरआर, नेपाल कमर्श र त्रिचन्द्र क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । 



190 Views

Comments