३ चैत,काठमाडौं(अर्थसंसार)।पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय संस्थाविरूद्ध अनेकौँ अराजक गतिविधि दैनिक बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भिर ध्यानाकर्षण जनाएको छ ।
हिजो (चैत्र २ गते, बिहीबार) फेरि गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एशिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण गरिएको छ । यस घटनाको बारेमा आपत्ति जनाउँदै सिबिफिनले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, "जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज ज्यान लिने गरी घटाइएको छ । यसै सन्दर्भमा मिति २०७९ चैत्र २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख श्री विनोद सापकोटा र कार्यकारी सहायक श्री प्रकाश आलेमाथि नियोजितरुपमा गरिएको सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्र्सना गर्दछ । निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं ।"
"वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ ।", विज्ञप्तिमा उल्लेख छ । साभार अर्थसंसार
Comments