पूर्वमन्त्री न्यौपानेले रुँदै भने- विशेष अदालतको जरिवाना र कैदको फैसलाको पूर्वाग्रही

Bhugolpark

३० फाल्गुन, २०७९,१५:५२

३० फागुन,काठमाडौं।पूर्वमन्त्री बद्री न्यौपानेले आफूलाई नियोजित रुपमा फसाइएको दावी गरेका छन‍। काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको आरोप लगाए।

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले न्यौपानेमाथि ९ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

न्यौपानेले भने,‘विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि म पुनरावेदनमा जान सक्ने अवस्थामा छैन । पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । मसँग जग्गा छैन, बैंक ब्यालेन्स पनि छैन । भाइको घरमा बसेको छु । म न धरौटी राख्न सक्छु,न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।’

मन्त्री हुँदा समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको बताए । सोही प्रक्रियामा सहभागी अरुलाई सफाई दिएर आफूलाई मात्रै नियोजित रुपमा फसाइएको उनको भनाइ छ।

न्यौपानेले रुँदै भने, एउटै व्यक्तिमाथि तीन प्रकारको सजाय नेपालको इतिहासमा भएको छैन । म सुकुम्बासी हुँ केही छैन धरौटी राख्ने रकम पनि छैन । पूर्वमन्त्री न्यौपानेले आफूमाथि पूर्वाग्रहीपूर्वक आरोप लगाइएको दाबी गरे । उनले भने, यो सबै मेरो राजनीतिक जीवन सिध्याउन गरिएको षड्यन्त्र हो ।

विशेष अदालतले काठमाडौंको भृकुटीमण्डपको जग्गा लिजमा दिंदा भ्रष्टाचार गरेको ठहर भएकोमा ९ मार्चमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई जेल, जरिवाना र थप सजाय समेत तोकेको थियो । न्यौपानेलाई २ करोड ३ लाख ६८ हजार ८०३ नेपाली रुपैयाँ बीगो र ९ वर्ष ६ महिना कैद सजाय निर्धारण भएको विशेष अदालतले जानकारी दिएको थियो । यो घटनामा ७ जनालाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।


132 Views

Comments