प्रत्येक्ष वैदेशिक लगानी सम्बन्धी कम्पनी खोल्न छुट्टै डेस्क संचालनमा

Bhugolpark

२९ फाल्गुन, २०७९,११:५७

कम्पनी रजिष्ट्रारको कार्यालयले प्रत्येक्ष वैदेशिक लगानी (FDI) भएका कम्पनीहरूको संस्थापना (दर्ता) गर्ने प्रयोजनको लागि अलग्गै डेस्क संचालनमा ल्याएको छ । 

यस डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, एवं सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनले तोकेको प्रकृया पुरा गरी कम्पनी दर्ताको चरणमा प्रवेश गरेका कम्पनीहरूको काम कारवाहीमा एकरुपता तथा छरितोपन ल्याई नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त डेस्कले प्रत्येक्ष वैदेशिक लगानी सम्बद्ध कम्पनीको अलावा, विदेशी कम्पनीको शाखा दर्ता तथा सम्पर्क कार्यालय स्थापना सम्बन्धी कार्यको समेत शुरुवाती कार्यहरू गरी सहजीकरण सेवा प्रवाह गर्नेछ । यस्ता कम्पनीहरू दर्ता भै संचालनमा आइसकेपछि प्रदान गरिने सेवा (Post Registration Service) भने नियमित प्रकृयाबाटै उपलब्ध गराइने कार्यालयले जनाएको छ।

कर्यालयका अनुसार उक्त डेस्कले खासगरी, कम्पनीको प्रस्तावित नामलाई छोटो बाटो अवलम्वन गरी स्वीकृत गर्नेछ भने सम्बन्धित कम्पनीले प्रवन्धपत्र तथा नियमावली तैयार गरी पेश गरेपछि कम्पनी दर्ताको लागि सहजिकरणको भूमिका खेल्नेछ । यस डेस्कको स्थापना मार्फत प्रत्येक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता तथा विदेशी कम्पनीको शाखा तथा संम्पर्क कार्यालय दर्ताको सन्दर्भमा यस कार्यालयले सम्पादन गर्नु पर्ने कार्य दश दिनमा सम्पन्न गरिने सार्वजनिक प्रतिवद्धता कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यो सेवा लिनको लागि कार्यालयको अनलाइन सिष्टम मार्फत आफु सम्वद्ध कम्पनीको विवरण प्रविष्ट गर्दा प्रत्येक्ष वैदेशिक लगानी कम्पनी (शाखा वा सम्पर्क कार्यालय समेत) भएको मेन्यू छनौट गरी विवरण दिनु पर्नेछ । यसरी पेश भएका निवेदनहरूको अलग्गै सूची तैयार हुने र सम्बन्धित डेस्कले सिघ्र उक्त निवेदनमा कारवाही गरी जानकारी उपलब्ध गराउने गरी प्रवन्ध गरिएको कर्यालयले जनाएको छ ।

सेवा प्रवाहको लागि तोकिएको डेस्क कार्यालयको पहिलो तल्लामा रहेको छ ।



248 Views

Comments