२६ फागुन,काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता भएको छ ।सोमबार राष्ट्रपतिले कायमुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीबाट सपथग्रहण गर्नुहुने।
राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए ।
सभामुखको प्रतिनिधिमण्डलमा कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेको स्मरण गरेका छन ।
सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्नेछन् ।
राष्ट्रपतिलाई सपथग्रहण कसले गराउँछन् ?
चासो हुन सक्छ, देशकै प्रमुखलाई कसले सपथग्रहण गराउँछ। संविधानअनुसार राष्ट्रपतिलाई प्रधानन्यायधीशले सपथग्रहण गराउनुपर्ने व्यवस्था रहेको छ। संविधानको भाग ६ को धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिको शपथग्रहणको व्यवस्था गरिएको छ।
उक्त धारामा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।’
संविधानको व्यवस्थाअनुसार निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कायमुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीबाट सोमबार सपथग्रहण गर्नुहुनेछ।
Comments