राष्ट्रपति निर्वाचनमा आयोग र उम्मेदवारका प्रतिनिधिहरूसँग मतगणनासम्बन्धी ७ निर्णय

Bhugolpark

२५ फाल्गुन, २०७९,१५:२१

काठमाडौँ — राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ । मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले ७ निर्णय गरेको हो ।

बैठकमा सहभागी राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि महेश बर्तौलाले सात निर्णय भएको जानकारी दिए । बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखक र नेम्वाङका प्रतिनिधि बर्तौला लगायतको उपस्थिति थियो ।

राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले गरेका निर्णयअनुसार दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने जनाएको छ साथै स्वस्तिक छाप नभएको मत बदर हुने बताएको छ।

आयोग र राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग भएको सहमतिमा सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा मतबदर हुने आयोगले बताएको छ।त्यस्तै आयोगले संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने र मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने बताएको छ।

आयोग र राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग भएको अन्य सहमतिमा मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने एवं मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने सहमति भएको छ।



172 Views

Comments