राष्ट्रपति निर्वाचनमा मत दिन बुधबार काठमाडौं आइपुग्न नौ दलीय गठबन्धनको निर्देशन दलले आफ्ना मतदातालाई निर्देशनलाई निर्देशन दिएको छ।
२३फागुन,काठमाडौँ। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ । गठबन्धनमा राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार बसेको बैठकले सबै मतदातालाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न र दलमा सम्पर्क राख्न निर्देशन दिएको हो ।
गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसावले गठबन्धनको कार्यदलमा छलफल भएको जानकारी दिए ।
‘आ-आफ्नो पार्टीका सबै मतदातालाई समन्वय गर्ने र सकेसम्म निर्वाचनमा मत बदर हुन नदिने भनेर छलफल भयो । सबै मतदातालाई हामीले बुधबार विहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएका छौँ,’ उनले भने ।
बैठकपछि नेकपा एसका महासचिव बेदुराम भुसालले गठबन्धनलाई थप विस्तार गर्ने सन्दर्भमा समेत छलफल भएको बताए । ‘गठबन्धनमा अन्य दलहरू पनि जोडिने भन्ने छ, सबै दलहरूलाई जोडेर बलियो गठबन्धन बनाएर अघि बढ्ने हो,’ उनले भने ।
कार्यदलका संयोजक खड्काले अहिले गठबन्धन पूर्ण रुपमा राष्ट्रपति निर्वाचनमा केन्द्रीत रहेको बताए । 'हामी सत्ताका विषयमा, भागबन्डाका विषयमा केन्द्रीत छैनौँ । अहिले हामी पूर्ण रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रीत छौँ,' उनले भने ।
भागबन्डा लगायतका विषय राष्ट्रपति निर्वाचनपछि मात्रै हुने पनि संयोजक खड्काले बताएका थिए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खड्काले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल अत्यधिक मतले विजयी हुने बताएका थिए ।
Comments