प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोकेपछि एमालेले बोलायो सचिवालय बैठक

Bhugolpark

१५ फाल्गुन, २०७९,११:०७

फागुन१५,काठमाडौँ —भूगोल पार्कको दृष्टिकोणमा प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको हो । मन्त्रिपरिषद्‌बाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको भन्दै यसै सन्दर्भमा छलफल गर्नका लागि सोमबार दिउँसो ११ बजे पार्टी सचिवालयको बैठक बस्ने महासचिव शंकर पोखरेलले जानकारी दिएसँगै  एमालेले यहि बैठकबाट सरकार छोड्ने निर्णय गर्न सक्नेछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा समेत छलफल हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।

राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्रिपरिषद्ले नै गरेको निर्णयअनुसार मन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ त्यसतर्फ उड्न लागेको समयमा प्रधानमन्त्रीको निर्देशनपछि उनको भ्रमण रोकिएको थियो ।

उक्त बैठकमा एमाले सरकारबाट तत्काल फिर्ता हुने अथवा केही समय कुर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिसकेको छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।



186 Views

Comments