हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउँदै सार्वजनिक बिदा दिए: ओली

Bhugolpark

११ फाल्गुन, २०७९,१५:२०

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिंसा दिवस (जनयुद्ध दिवस) लाई राष्ट्रिय दिवस मनाएको भन्दै आपत्ती जनाएका छन्। बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिंसा टुंगिएको भएपनि केही व्यक्तिमा हिंसाको धङधङी देखिनु दु:खद पक्ष भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले सरकारले जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिएर दु:खद निर्णय गरेको बताए। हिंसा दिवसमा सार्वजनिक बिदा दिनु गलत प्रवृत्ति भएको उनको भनाइ छ।

उनले भने,'हिं‌सा टुंगिएको थियो। तर हिंसाको धङधङी अझै पनि छ जस्तो देखिन्छ कतिपय मानिसको क्रियाकलापमा। अहिलेको सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर त्यसलाई फेरि पनि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दु:खद निर्णय गर्यो। यसले हिंसाको मानसिकता हिंसाप्रति गर्व गर्ने प्रवृति नदेखिन्छ।'

नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उनले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताए। 'आफैले छोडेर त्यो बाटो शान्ति प्रक्रियामा आइसकेपछि किन त्यसको महिमामण्डन गर्नुपर्यो,'उनले भने,' यसले संझीसंझीकन हिंसाप्रतिको पुरानो लगाव संयोगजस्तो मात्र लाग्छ मलाई। '

सरकारले जनयुद्ध दिवसका अवसरमा फागन १ गते सार्वजनिक बिदा दिएको थियो। सो बिदा आगामी दिनमा पनि मनाउने गरी सरकारी क्यालेन्डरमा समेट्ने निर्णय भइसकेको छ।



183 Views

Comments