यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

Bhugolpark

१५ चैत्र, २०८०,१३:२८

काठमाडौँ — सरकारसँगको वार्तापछि यातायात मजदुर संगठनले मंगलबारको बन्द फिर्ता लिएका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएका हुन् । 

मन्त्री श्रेष्ठको सचिवालयमा रहेका विजय गौतमले सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको जानकारी दिए ।

मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने सहमति भएको छ । त्यस्तै नयाँ बसपार्कभित्रको विवाद समाधान गर्न काठमाडौं महानगर, मजदुर र बसपार्क व्यवस्थापकबीच मन्त्रालयले समन्वय गर्ने सहमति भएको गौतमले जानकारी दिए ।

त्यस्तै नेपाल यातायात मजदुर संघका महासचिव नुरनाथ पन्तले मन्त्री श्रेष्ठले आफूहरूका माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मंगलबारको बन्द फिर्ता लिन तयार भएको जानकारी दिए । सोमबार मजदुरहरूले बसपार्क क्षेत्रमा प्रहरीको भ्यान र प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।

त्यस्तै नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको ल्होत्से भवनमा समेत तोडफोड भएको थियो । सोमबारको घटनामा संलग्नलाई पहिचान गरी कारबाही गर्ने सहमति भएको छ । मंगलबारको वार्तामा यातायात व्यवस्था विभाग, काठमाडौं जिल्ला प्रशासन कार्यालय र मजदुरका प्रतिनिधि सहभागी थिए ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उहाँका प्रेस विज्ञ कमल गिरीले जानकारी दिनुभयो । ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।



56 Views

Comments