काठमाडौँ — टर्कीमा अघिल्लो साता भूकम्पका कारण भत्किएका भवन निर्माण गर्ने ठेकेदारहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । त्यहाँको सरकारले भवन बनाउने १ सय १३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको उल्लेख गर्दै बीबीसीले समाचार लेखेको छ ।
टर्कीको प्रहरीले भवन निर्माण गर्ने ठेकेदारसहित १२ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । गत सोमबार बिहान ७.८ म्याग्निच्युटको र सोही दिन दिउँसो ७.६ म्याग्निच्युडको भूकम्पमा परेर टर्की र सिरियामा २८ हजार मानिसहरूले ज्यान गुमाएका छन् ।
विज्ञहरूले केही वर्षअघिदेखि नै नयाँ बनाएका भवनहरु असुरक्षित रहेको बताउँदै आएका थिए । सरकारी नीति र व्याप्त भ्रष्ट्राचारका कारण त्यहाँका भवनहरू असुरक्षित मानिएका थिए ।
सरकारी नीतिका कारण ठेकेदारहरूले भवन निर्माण सम्बन्धीको नियमहरू उल्लंघन गर्दै भूकम्पीय जोखिमयुक्त स्थानहरूमा भटाभट भवनहरू ठड्याइएको बीबीसीले उल्लेख गरेको छ ।
सयौं भवनहरू भत्किँदा त्यहाँ रहेका धेरै मानिसहरूको ज्यान गएको थियो । भूकम्प गएको छैटौं दिन बितिसक्दा पनि त्यहाँको अवस्था दर्दानक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फसेकाहरूको उद्धारका लागि टर्किस आर्मीलाई त्यहाँको सरकारले खटाएको छ । बीबीसीका अनुसार दक्षिण टर्की र उत्तरी सिरिया क्षेत्रमा लाखौं मानिसहरू घरबारविहीन बनेको उल्लेख गर्दै रातको समयमा तापक्रम घट्दै जाँदा भूकम्प पीडितहरू कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन् ।
संयुक्त राष्ट्रसंघले ८ लाख मानिसहरूले पर्याप्त खाना नपाएको बताउँदै घटनास्थलमा खटिएका यूएन एजेन्सीहरूले भूकम्पका कारण ज्यान गुमाउनेहरूको संख्या दोब्बर हुन सक्ने चेतावनी दिएका छन् ।
सिरियामा मृत्यु हुनेको संख्या ३५ सय नाघेको छ तर शुक्रबारयता तथ्याङ्क सार्वजनिक भएको छैन ।
Comments