राष्ट्रपतिको सवारी समयानुकूल परिमार्जनको आवश्यकता: रघुजी पन्त

Bhugolpark

२९ माघ, २०७९,१६:०८

भूगोल पार्कको दृष्टिकोणमा सुशासनको प्रत्याभूति दिन्छौं भन्ने प्रचण्डको सरकारले भीभीआइपीहरू औपचारिक कार्यक्रममा जाँदा जनताका दु:ख र गुनासालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ।राजामहाराजाको सवारीमा हुने गरेको तामझाम अब जनताका छोराछोरी भीभीआइपीहरू औपचारिक कार्यक्रममा सरिक हुँदा गर्न जरुरी छैन् समयअनुसार सरकारले परिमार्जन गर्न आवश्यक देखिन्छ

नेकपा एमालेका सांसद रघुजी पन्तले भीभीआइपीहरू औपचारिक कार्यक्रममा जाँदा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्न माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका सांसद पन्तले जनताका दु:ख र गुनासालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने बताए।

गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आफू पनि सडकमा यात्रा गरिरहेको उल्लेख गर्दै पन्तले मानिसहरूले गाली गर्न थालेपछि लोगो छोपेको बताए। 

‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन। अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ,’ पन्तले भने, ‘थुप्रै मानिसले गाली गरिरहेका छन्। मैले लोगो छोप्नुपर्‍यो, म चढेको बाइकलाई अगाडि बढाऊ भनेर मुखमा मास्क लगाउनुपर्‍यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले।’

गत माघ २७ गते राष्ट्रपति संघीय संसद बैठकमा सम्बोधन गर्न आउजाउ गर्दा बाटो खाली गराइएको थियो।

उनले यस्तो प्रणालीको समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताए। ‘यो गर्ने भनेको सरकारले हो। सरकारले यो नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने?,’ उनले भने, ‘राष्ट्रपतिजस्तो संस्था किन विवादमा पर्ने? त्यसैले यस विषयमा म अविलम्ब प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछु।’

उनले औपचारिक कार्यक्रममा जाँदा सवारीलाई सहज, सजिलो र जनतालाई अप्ठ्यारो नपर्ने गरी सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।



285 Views

Comments