नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि विश्वासको मत जुटाउन चुनौती

Bhugolpark

२८ माघ, २०७९,१५:१७

‘अहिलेको सरकारले विश्वासको मत नपाउने अवस्था भनेको मध्यावधिमा जाने बाटो हो,’ स्वतन्त्र सांसद तारा जोशी

धनगढी — सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीसमक्ष नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसहित एकीकृत समाजवादीका नरेशकुमार शाही र कांग्रेसका प्रकाश देउवाले मन्त्री पदको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त शाहले शुक्रबार कार्यविभाजन गरेका हुन् । शाहीलाई आर्थिक मामिला र देउवालाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरिएको हो ।

विश्वासको मतका लागि २७ सांसदको आवश्यकता रहेको प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । चार सांसद रहेको एकीकृत समाजवादीलाई पनि महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर सरकारको सहयात्री बनाइसकेको छ । त्यति हुँदा पनि कांग्रेस नेतृत्वको सरकार टिकिरहन अन्य चार सांसदको साथ जुटाउनुपर्ने खाँचो छ ।

तर, शपथ लिएसँगै विश्वासको मतको चेपुवामा शाह पनि पर्ने देखिएको छ । चुनावताका आफ्नो नेतृत्वको सत्ता गठबन्धन टुट्दा केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार गुमाएपछि निराश भएको कांग्रेस सुदूरपश्चिममा भने एक महिनामै सत्ता नेतृत्वमा फर्किन सफल त भयो तर ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके शाह पनि पदमुक्त हुनेछन् ।

विश्वासको मतका लागि २७ सांसदको आवश्यकता रहेको प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । चार सांसद रहेको एकीकृत समाजवादीलाई पनि महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर सरकारको सहयात्री बनाइसकेको छ । त्यति हुँदा पनि कांग्रेस नेतृत्वको सरकार टिकिरहन अन्य चार सांसदको साथ जुटाउनुपर्ने खाँचो छ । यस्तो अवस्थामा कांग्रेस र नेकपा एसले नागरिक उन्मुक्ति र माओवादीको साथ खोज्ने छनक देखाएका छन् ।

माओवादी संसदीय दलका नेता खगराज भट्टले आफ्नो दल प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने बताइसकेका छन् । माओवादीसँग सभामुखबाहेक १० सांसद छन् । नागरिक उन्मुक्तिका सांसदहरूसँग प्रदेश तहमा कुनै छलफल छैन । उन्मुक्तिसँग ७ सांसद छन् । ‘माओवादी र उन्मुक्तिसँग अहिलेको सरकारलाई समर्थनका लागि समान रूपमा छलफल हुन्छ,’ कांग्रेस सांसद मेघराज खड्काले भने, ‘विश्वासको मत प्राप्त हुन्छ होला भन्ने नै लाग्छ ।’

तत्काल अनिश्चयको अवस्था देखिएपछि अहिलेको सरकारले विश्वासको मत प्राप्त गर्नुको विकल्प नभएको कतिपय सांसद बताउँछन् । ‘अहिलेको सरकारले विश्वासको मत नपाउने अवस्था भनेको मध्यावधिमा जाने बाटो हो,’ स्वतन्त्र सांसद तारा जोशीले भने, ‘अहिलेको अवस्थामा एमालेबाहेक मध्यावधिमा जाने रुचि त कसैको नहोला ।’



135 Views

Comments