भैरहवा — उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेजेज) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै पौडेलले शनिबार यस्तो बताएका हुन् ।
पछिल्ला दिनहरूमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै उनले भने, ‘यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरूको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरू निकालेर कार्यान्वयनमा लगिनेछ ।’
विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति भएको र अहिले त्यो काम पूरा भइसकेकाले अब तीव्र रुपमा क्षमता विस्तार गरिने उनले बताए । ‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएका छन्,’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु । विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ । र त्यसमा कसैको अवरोध हुनेछन् । क्षतमाको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदैछ ।’
पौडेलले लुम्बिनीको विकाससँग सरोकार राख्ने तथा शुभचिन्तक सबैलाई विमानस्थल निर्माणमा सकारात्मक सहयोग गर्न पनि आग्रह गरे ।
Comments