केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डको नाटकीय पूनर्मिलन

Bhugolpark

२१ माघ, २०७९,१०:२४

२१ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्कको दृष्टिकोणमा ओली त्यति कम इखालु मान्छे हैनन् कि प्रचण्डलाई सजिलै क्षमादान गरून् । ओलीले बालकोटको बार्दलीबाट नाटकीय ढंगले प्रचण्डलाई प्रधानमन्त्री बनाउँने निर्णय गरे तर ‘क्षमादान’ पनि गरेका हुन् भन्ने पुष्टि नभएकोले पूनर्मीलनको हदम्यादको बारेमा यसै भन्न सकिन्न ओली त्यति कम इखालु मान्छे हैनन् कि प्रचण्डलाई सजिलै क्षमादान गरून् । ओलीले बालकोटको बार्दलीबाट नाटकीय ढंगले प्रचण्डलाई प्रधानमन्त्री बनाउँने निर्णय गरे तर ‘क्षमादान’ पनि गरेका हुन् भन्ने पुष्टि नभएकोले पूनर्मीलनको हदम्यादको बारेमा यसै भन्न सकिन्न ।

विगतमा सामाजिक सञ्जालमा दुई भिडियो क्लिप भाइरल भएका थिए । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का । यी दुवै क्लिप उनीहरूले चुनाव अघि बोलेका सत्य र स्वीकारोक्तिका जीवन्त प्रमाण हुन् ।

भिडियोमा ओली भन्छन्– ‘प्रचण्ड प्रधानमन्त्री बनाउनै नहुने मान्छे हुन् । किन बनाउने प्रचण्डलाई प्रधानमन्त्री, देश र जनतालाई दुःख दिन ?’ अनि प्रचण्डको अभिव्यक्ति छ– ‘ओलीले प्रधानमन्त्री नै दिन्छन् भने पनि यो गठबन्धन तोडेर प्रधानमन्त्री हुन जान्नँ ।’

आजको स्थिति के छ, जगजाहेरै छ । ओलीले तिनै प्रचण्डलाई प्रधानमन्त्री बनाएका छन्, जसलाई प्रधानमन्त्री बनाउनु देश र जनतालाई दुःख दिनु हो भन्ने ओलीको बुझाइ थियो । अर्थात ओली ‘देश र जनतालाई दुःख दिन’ राजी भएका छन् । अर्कोतिर प्रचण्ड आफ्ना भनाइ र प्रतिबद्धता विपरित गठबन्धन तोडेर ओलीको निगाहमा प्रधानमन्त्री खान पाउँदा उत्साहित र गौरवान्वित देखिएका छन् ।

त्यसो त यो देशका नेताले वचनको गरिमा कहिले पो कायम गरेका थिए र ! उहिले उहिले बरु ‘ज्यान जाओस्, वचन नजाओस्’ यही देश र समाजको उखान थियो ।

करिब तीन वर्षपछि ओली–प्रचण्ड पुनर्मिलनको नाटकीय परिदृश्य अनौठो भन्दा बढी अश्लील जस्तो लाग्छ । तीन वर्षमा सबै प्रकारका घम्साघम्सी, गालीगलौज, आरोप–प्रत्यारोप, भन्नु–नभन्नु मुखको तीतो सकाएर पुनर्मिलन तीन घण्टामा सम्भव भयो, त्यो पनि बालकोटको बार्दलीमा ।

कमरेड ओली र कमरेड प्रचण्डको नाटकीय पुनर्मिलनको कथाभित्र यसभन्दा कुनै भिन्न व्यथा छ जस्तो लाग्दैन । ‘जे भए पनि कमरेड हो, कांग्रेसले खानुभन्दा कम्युनिष्टले नै खाओस्, नत्र एमालेको भागमा चाहिं के बाँकी रहन्छन् र ?’ भन्ने भाव र मनोदशा नै कमरेड ओलीको मनोदशा हो भन्ने कुरामा कुनै शंका गर्नुपर्छ जस्तो लाग्दैन ।

संसदीय प्रणालीमा निर्णायक हुने गणितको खेलले दुवैका राजनीतिक विकल्पलाई सीमित गरिदिएको मात्रै हैन, कुनै न कुनै यस्तै नाटक गर्न अनिवार्य बनाइदिएको थियो । गणित हावी भएको राजनीतिमा के नैतिकता, के अनैतिकता, के श्लील, के अश्लील, के नाटक, के नौटंकी ? हिजो कहाँ कसले, के भन्यो, कसले सम्झिन्छ र !

‘नाटक/नौटंकी’ शब्द कमरेड ओली र प्रचण्डले नेकपा (नेकपा) कार्यकालमै सर्वाधिक लोकप्रिय र चर्चित बनाइसकेकै थिए । आजको यथार्थ पनि फेरि ‘नाटकै हो, नौटंकी नै हो’ भन्न नसकिने हैन, तर यो नाटक वा नौटंकीको कहाँदेखि कहाँसम्म रिहर्सल हो र कुन चाहिं भाग साँचो जनप्रदर्शनका लागि गरिएको मञ्चन हो, त्यो अझै सजिलै छुट्टिने खालको छैन ।

एउटा भनाइ छ– ‘भिखारी कहिल्यै टाट पल्टिंदैन । टाट पल्टिन बाँकी केही हुनु पर्‍यो नि !’ बरु उद्यमशील मानिस टाट पल्टिएर आत्महत्या गरेका उदाहरण संसारमा धेरै छन् तर मगन्तेले भीख नपाएर आत्महत्या गरेको समाचार आजसम्म कुनै अखबारले छापेको छैन । बालुवाटारले नदिएको भीख बालकोटको बार्दलीले दिन्छ भन्ने आत्मविश्वास नभएको भए कमरेड प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको आइतबार साँझ ५ बजेसम्मको एक घण्टा अघिसम्मै देउवालाई दङ्ग्याई बस्ने थिएनन् ।

माओवादीको दुर्भाग्य नै यही हो कि यो सधैं एक आन्दोलन रह्यो कहिल्यै पार्टी बन्न सकेन । पार्टी बनाउने आँट, साहस, सौर्य, सीप र धैर्य नै यो धार र स्कुलिङका नेता–कार्यकर्तामा कहिल्यै रहेन । तसर्थ यो आन्दोलन ‘संयुक्त जनमोर्चादेखि संयुक्त जनमोर्चासम्म’ को नियति भोग्न बाध्य भयो । जनविद्रोहमा जानुअघि २०४८ को आम चुनावमै यो धार संयुक्त जनमोर्चाको नाममा चुनाव लडेको थियो र ९ सीट जितेर संसदको तेस्रो ठूलो दल बनेको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनविद्रोहको ‘राप ताप र प्रकाश’ भनौं वा ‘आश, त्रास र बतास’ ले एकपटकलाई पहिलो भयो । त्यसपछि फेरि तेस्रोको तेस्रै । अब त झन्झन् ओरालो लाग्दो तेस्रो हुँदैछ तर, ‘प्रधानमन्त्री खाने’ कमरेड प्रचण्डको रहर भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपश्चात् भन्दा बढी हुँदै गएको छ ।

माओवादीले अब आफ्नै ठूलो र बहुमत ल्याउने, सरकार बनाउने र देश चलाउने, देशलाई कुनै क्रान्ति, रूपान्तरण वा सकारात्मक बदलाव दिने पार्टी बनाउन र चलाउन सक्दैन भन्ने कुरा अब जनता र मतदाताले मात्रै हैन, स्वयं माओवादीका नेता र कार्यकर्ताले पनि बुझिसके । यदि यो साहस र आत्मविश्वास, यस्तो जाँगर र इच्छाशक्ति, कल्पनाशीलता र धैर्य बाँकी रहेको भए नाथे एउटा प्रधानमन्त्री पदका लागि यति धेरै तड्पिन जरूरी थिएन । अझ माओवादी विचार, सिद्धान्तको त चरित्र नै हैन यो ।

माओवादीहरूको विश्व चरित्र हेर्दा बरु हारेका छन्, तर आत्मसमर्पण गरेका वा पदका लागि यति मरिहत्ते गरेर दौडिएका उदाहरण छैनन् । सन् १९४९ मा माओले चीनको सत्ता लडेरै जितेका थिए । भारतका चारु मजुमदार हिरासतमा मारिए र पेरुका गोञ्जालो जेलमै बिते । कम्बोडियाका पोलपोट सत्ताबाट अपदस्त भएपछि निर्जन जंगलको झुपडीमा बाँकी जीवन बिताएर बिते । त्यो ठीक थियो कि बेठीक, राम्रो वा नराम्रो त्यो अर्कै कुरा, तर कुनै विचार र निष्ठामा साँचो हृदयले प्रतिबद्ध मान्छे त्यति ढुलमुले, अवसरवादी र पिपलपाते भने अवश्य हुँदैन ।

कमरेड प्रचण्ड व्यक्तित्वको सबैभन्दा ठूलो विरोधाभास नै यही हो कि एकातिर माओवाद र जनविद्रोहको विरासत मोह छ अर्कोतिर संसदीय संख्याको खेलमा बाजी मार्नु पनि छ । त्यो पनि आफ्नै ठूलो, बलियो, बहुमत ल्याउने वा लार्जेस्ट हुने पार्टी बनाएर हैन, ‘तेस्रो पार्टी’ को कटौरा बोकी कहिले बूढानीलकण्ठ र कहिले बालकोट दौडिएर । प्रचण्डको यो बाध्यता र मनोदशालाई ओलीले नबुझ्ने कुरै भएन ।

कमरेड ओलीको पाटोबाट हेर्दा यो नाटक/नौटंकीको परिदृश्य फरक देखिन्छ । अध्यक्ष ओलीले कमरेड प्रचण्डलाई झुकाएका हुन्, झुलाएका हुन्, क्षमादान दिएका हुन्, स्वार्थको अर्को सौदाबाजी गरेका हुन् वा करिब तीन वर्षअघिको पारपाचुके बिर्सेर ‘आफ्नै सन्तान कि आमा त हो यार !’ भन्दै फिर्ता गरेका हुन्, अस्पष्ट छ ।

एमालेवृत्तको कुरा बुझ्दा स्थिति अझै नाटकीय छ । प्रचण्ड देउवा सहकार्य जारी रहँदा एमालेले पाँच वर्ष सबै पदबाट हात धुनुपर्ने स्थितिलाई दृष्टिगत गरी ओलीले ‘ट्रिक’ गरेका हुन् । राष्ट्रपति, सभामुख जस्ता ठूला पदको चुनाव र ती पदको प्राप्तिपछि ओलीले रणनीति फेर्न सक्दछन् । ओली त्यति कम इखालु मान्छे हैनन् कि प्रचण्डलाई सजिलै क्षमादान गरून् । ओलीले बालकोटको बार्दलीबाट ‘भिक्षादान’ गरेकै हुन्, तर ‘क्षमादान’ पनि गरेका हुन् भन्ने पुष्टि छैन । तसर्थ ओली–प्रचण्ड पुनर्मिलनको हदम्यादबारे यसै भन्न सकिन्न ।

कम्युनिष्ट गुटहरूको झगडा, अविश्वास, खिचातानी, वैमनस्य र प्रतिरोध सबैका लागि सर्वाधिक अरुचिको विषय हो । तर, उत्तिकै ठूलो दुर्भाग्य हो कि देश आज यही अरुचिकर भोजन कोची–कोची ग्रहण गर्न बाध्य छ । यो देशमा कम्युनिष्टहरूको कुरा कम्युनिष्टहरूको मात्रै चासो र सरोकारको विषयमा सीमित भइदिएन । यदि त्यसो हुन्थ्यो त उनीहरू जेजे गर्थे, गर्दै गर्थे, अरूले चुपचाप आफ्नो बाटो समात्ने अवसर पाउँथे । तर, स्थिति यस्तो छ कि उनीहरूको चरित्रले नै देशको राजनीतिक चरित्र निर्धारण होला भन्ने भय छ । जस्ता कम्युनिष्ट, त्यस्तै देशका दल, त्यस्तै देशको राजनीतिक संस्कृति, त्यस्तै लोकतन्त्र र शासन–प्रशासनको गुणस्तर बन्देला भन्ने भयले पनि उनीहरूको चर्चा गर्नु नै पर्ने भयो ।


237 Views

Comments