काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २ सय ५९ वटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।
पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जना सवारी चालकहरूका सवारी चालक अनुमति पत्र निलम्बनको लागि सोमबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू ५ पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि विभाग पठाइएको जनाएको छ ।
निलम्बनका लागि पठाइएका सवारी चालक अनुमति पत्रमध्ये ३६, ३०, २८,१९, १८ र १७ पटक उल्लंघन गर्ने १/१ जना, २३, २० र १६ पटक उलङ्घन गर्ने २/२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११/११ जना, १४ पटक ५ जना, १३ पटक ९ जना, १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना, र ६ पटक ८१ जना चालकहरु ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए ।
ट्राफिक नियम उल्लंघन गरेको कारणले धेरैजसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन एसएसपी भट्टको सुझाव छ ।
Comments