प्रेमप्रसादको आत्मदाह नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता हो : गगन थापा

Bhugolpark

१२ माघ, २०७९,१३:२४

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु राज्य संयन्त्र र सिस्टमकै असफलता भएको बताएका छन्। 

बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन्।

उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएकोसमेत बताएका छन्।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुने बताउँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताएका हुन्।

‘अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नु नपर्ला!,’ उनले भनेका छन् ।

प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको भन्दै महामन्त्री थापाले उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले आफूलाई पटक-पटक घोचिरहेको बताए।

‘यसो सोच्छु – उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ! फेरि सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो’, उनले भनेका छन्, ‘कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला!’



187 Views

Comments