देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक हुनु गौरवको कुरा हो :  प्रधानमन्त्री

Bhugolpark

१२ बैशाख, २०८१,११:१२

तामाङ समुदायले आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्रीले दिए ल्होसारको शुभकामना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्डले' सोनाम ल्होसार पर्वको शुभकामना दिंदै देश हुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा भएको बताएका छन् । उनले यही नै देशको सम्पत्ति भएको बताए। 

प्रधानमन्त्रीले देश विदेशमा रहेका ल्होसार मनाउने सबैलाई शुभकामना दिंदै भनेका छन्, 'तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।' 

तामाङ समुदायले आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै भने, 'नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु।' 

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल स्थाल रहेको उनले बताए। प्रधानमन्त्रीले नेपालमा बसोबास गर्ने सबै जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहे र यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए । 

उनले सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गरे।



494 Views

Comments