फरार सांसदबारे प्रश्न उठेपछि गृहमन्त्रीको जवाफ: विधि र पद्धतिभन्दा बाहिर गएर काम गर्दैनौँ

Bhugolpark

५ माघ, २०७९,१५:१३

भूगोल पार्कले सत्यतथ्य सूचनाहरूको ताजा जानकारी आम नेपालीहरूलाई दिदै आएको छ ।आज संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन् भन्ने उपप्रधान तथा गृहमन्त्री रविको भनाइको जानकारी दिनेछौं ।

बिहीबार संसद्‍मा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको उल्लेख गरेपछि गृहमन्त्री लामिछानेले त्यसको जवाफ दिएका हुन् । 

कर्मचारी सरुवा बढुवा र कानुनी शासनको पालनामा कुनै कसर बाँकी नराख्ने गृहमन्त्री लामिछानेले बताए । लामिछानेले भने, 'माननीय सांसदज्युले फरार रहनु भएका मानिस संसद्मा हुनुहुन्छ भन्नुभयो । विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले काम गर्नेछैन । कर्मचारीको सरुवा बढुवामा भनसुनका आधारमा चल्ने छैन । कुनै पनि दबाब र प्रलोभनमा काम हुने छैन । विधि र पद्धतिभन्दा बाहिर गएर काम हुने छैन ।'

प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए । संघीय संसद् सचिवालयका अनुसार बिहीबार भने अहिलेसम्म कोइरी संसद्‍मा उपस्थित भएका छैन । संसद् बैठकमा उपस्थित भएका सांसदहरूको हाजिरी पुस्तिकामा उनको नाम नभएको सचिवालयले जनाएको छ ।

कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।

२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।


141 Views

Comments