प्रदेशमा पहिलो महिला सभामुख बनिन् एमाले सांसद नन्दा गुरुङ

Bhugolpark

१ माघ, २०७९,१५:५९

प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी ।उनको पक्षमा २४ र विपक्षमा १४ मत परेको छ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका कारण कांग्रेस सांसद हिक्मतबहादुर विष्ट पनि मत विभाजनमा सहभागी भएनन्।स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही तटस्थ बसे ।

२५‌ सांसदको समर्थनमा माओवादीका शर्माद्वारा कर्णाली मुख्यमन्त्री भैसकेका छन् ।

नेकपा माओवादीले मुख्यमन्त्री र नेकपा एमालेले सभामुखमा बाजी मार्न सफल भएको छ ।उहाँहरूसबैलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं सुशासनको सफलताको शुभ कामना ।

सुर्खेत : कर्णालीले महिला सभामुख पाएको छ। प्रदेश मन्त्रिपरिषद्मा महिला सहभागिताको बहस चलिरहँदा प्रदेशसभाको नेतृत्व गर्ने अवसर भने महिलालाई प्राप्त भएको हो। 

प्रदेशसभाको सभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा एमाले सांसद नन्दा गुरुङ सभामुखमा विजयी भएकी हुन्। कांग्रेसका उम्मेदवार खड्गबहादुर पोखरेललाई हराउँदै गुरुङ सभामुखमा विजयी भइन्। गुरुङले २४ मत प्राप्त गरिन्। 

प्रदेशससभामा रहेका ४० सांसदमध्ये २४ जना सांसदले उनलाई मत दिएका हुन्। उनलाई सत्ता गठबन्धनमा रहेका एमालेका १०, माओवादीका १३ र राप्रपाका एकजना सांसदले मत दिएका हुन्।

यस्तै कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार बनेका खड्गबहादुर पोखरेलले भने १४ मत मात्र प्राप्त गरेका छन्। 

आइतबारको मतदानमा प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी थिए। दुई जना सांसद भने मतदानमा सहभागी भएनन्। प्रदेशसभामा रहेका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले कसैलाई मत नदिएर तटस्थ बसे भने प्रदेशसभा बैठकको अध्यक्षता गरेका कारण कांग्रेस सांसद हिक्मतबहादुर विष्ट पनि मत विभाजनमा सहभागी भएनन्। 

यस्तै यसअघि मुख्यमन्त्रीको नियुक्तिमा सत्ता गठबन्धनलाई समर्थन गरेकी एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले भने सभामुखको निर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मत दिएकी छन्। सभामुख चयनका लागि शनिबार मनोनयन दर्ता भएको थियो। सभामुखमा विजयी भएकी गुरुङ एमालेको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन्। सुर्खेत निवासी उनलाई एमाले कर्णाली प्रदेश कमिटीले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। गुरुङ निर्वाचित भएसँगै कर्णालीले पहिलो महिला सभामुख पाएको छ। त्यतिमात्र होइन, उनी संघीयता कार्यान्वयनपछि प्रदेशहरुमा सभामुख बन्ने पहिलो महिला बनेकी छन्। 

अघिल्लो कार्यकालमा पनि एमालेले कर्णालीमा सभामुख पाएको थियो। त्यसबेला एमालेका राजबहादुर शाही सभामुख बनेका थिए। तर यसपालि सत्ता गठबन्धनको भागबण्डामा सभामुख पाएको एमालेले महिलालाई अवसर दिइएको जनाएको छ।

गुरुङको प्रस्तावकमा एमाले संसदीय दलका नेता यामलाल कँडेल र समर्थकमा माओवादी संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राजकुमार शर्मा थिए। यस्तै काँग्रेसबाट सभामुखको उम्मेदवार बनेका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभाको सदस्यमा निर्वाचित भएका हुन्। नेपाली काँग्रेस सुर्खेतका सभापतिसमेत रहेका पोखरेल सभामुख भने बन्न सकेनन्। प्रदेशसभामा माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका एक–एक जना सांसद छन्। 

यस्तै प्रदेशसभाको सबैभन्दा ठूलो दल काँग्रेसका १४ जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन्। कर्णालीमा एमाले र माओवादीबीचको भागबण्डामा मुख्यमन्त्री माओवादी र सभामुख एमालेले पाएका छन्।

२५‌ सांसदको समर्थनमा माओवादीका शर्माद्वारा कर्णाली मुख्यमन्त्री भएका थिए ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कर्णालीमा माओवादी र एमालेबीच साढे २/२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।



246 Views

Comments