अन्तर्राष्ट्रिय इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

Bhugolpark

१३ बैशाख, २०८१,१०:३२

अन्तर्राष्ट्रिय इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । कार्यक्रम आयोजनाको संयोजनको जिम्मा पाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले तत्काल सबै तयारी रोक्ने निर्णय गरेको सेतोपाटीलाई जानकारी दिए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसअघि नै कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो । सीईओ जोशीले सो निर्देशन र जनभावनालाई सम्मान गर्दै तयारी रोकिने बताए । ‘हामीले कार्यक्रमलाई पर्यटन प्रवद्र्धन र ब्रान्डिङको अवसरका रुपमा लिएका थियौँ तर संसदीय समितिको निर्देशन र अन्य राजनीतिक तथा सामाजिक कारणले कार्यक्रम आयोजना गर्न उपयुक्त समय नभएको भन्दै त्यसलाई रोक्ने निर्णय गरेका हौँ,’ उनले भने । । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साप्ताहिक पत्रकार सम्मेलनमा नेपाल टेलिकम र काठमाडौं महानगरपालिकाको सहआयोजक हुने गरी कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रम भदौ अन्तिम साता हुने तय भएको थियो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त कार्यक्रममा सरकारलाई झण्डै एक अर्ब रुपैयाँ खर्च हुने थियो । आयोजकले कार्यक्रम आयोजना गर्न नेपालसँग ४० लाख अमेरिकी डलर माग गरेको थियो भने नेपालले पाहुना र सहभागीका लागि हवाई भाडा, बास र स्थानीय यातायातको पनि व्यवस्था गर्नुपर्नेमा अधिकांशले बिजनेस क्लासको टिकट र पाँचतारे आवासको माग गरेका थिए । करदाताको पैसाबाट कार्यक्रम आयोजना गरिने खुलासा भएपछि सरकारको निर्णयको चौतर्फी आलोचना भएको थियो ।


229 Views

Comments