काठमाडौंः थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले गृह मन्त्रालयसँग सहयोग मागेको छ।
बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको हो।
महानगरले आफू यो अभियानमा असफल भएको भन्दै सहयोग गर्न मन्त्रालयको सहयोग मागेको हो।
महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बागमती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक पटक प्रयास भएपनि प्रयास सफल हुन नसकेको बताए।
उनले भने, ‘विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ त्यहाँ सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकाले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ। यस महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ। जसका लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ।’
अतिक्रमित क्षेत्रमध्ये थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रूपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन नसकेको महानगरको निष्कर्ष छ।
यसअघि थापाथलीको अनधिकृत बस्ती हटाउने क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो।
Comments