जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन

Bhugolpark

१३ पुष, २०७९,०७:४१

काठमाडौँ — जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।

बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आए पनि अध्यक्ष यादवनिकट रामसहायले बाजी मारेका हुन् ।

जसपा महासचिवसमेत रहेका यादवले २०४६ पछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०६४ मा पहिलो मधेस आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका उनी तत्कालीन मधेसी जनअधिकार फोरमको संस्थापक रही सुरुवातदेखि नै महासचिवको भूमिकामा थिए ।

संसदीय यात्रा भने उनले २०६४ बाट सुरु गरे । तत्कालीन फोरमबाटै बाराबाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी २०७४ मा पनि सोही ठाउँबाट दोहोरिएका थिए । उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।

सरकारको सहभागिता विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८-१९ मा बस्ने भएको छ । महासचिव मनिष सुमनले सोही बैठकले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेताको निर्णय गर्ने बताए ।



127 Views

Comments