नयाँ सत्तासमीकरणको संयुक्त बैठक  सुरु, सरकारमा सहभागी हुने मन्त्रीबारे घनिभूत छलफल

Bhugolpark

११ पुष, २०७९,०७:३२

काठमाडौं : एमालेसहित नयाँ सत्तासमीकरणको संयुक्त बैठकमा सरकारमा सहभागी हुने मन्त्रीबारे घनिभूत छलफल सुरु भैरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक भैरहेको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामछिने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरु सहभागी छन्।

प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डको आज अपरान्ह ४ बजे शपथग्रहण तय गरिएको छ। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । 

प्रचण्डको शपथ ग्रहणसँग सानो आकारको मन्त्रीमण्डल गठनका लागि बैठकले मन्त्रालय र मन्त्री हुनेको नाम टुङ्गो लगाउने बताइएको छ। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ।

प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ। प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ। 



222 Views

Comments