क्रिश्चियन धर्मगुरू तथा विश्वका नेतागणहरूले आइतबार विश्वका क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने क्रिसमसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानीसलगायत नेताहरूले क्रिसमसको अवसरमा देश विदेशमा रहेका आफ्ना नागरिक र विश्व समुदायमा ‘क्रिसमस’को शुभकामना व्यक्त गर्नुभएको हो ।पोप फ्रान्सिसले ट्वीट गर्दै लेख्नुभएको छ, “आज राति ईश्वर तपाईंको नजिक आउनुभएको छ किनभने तपाईं उहाँका लागि महत्वपूर्ण हुनुहुन्छ । अपराध बोध र अपर्याप्तताको भावनाले तपाई हामीहरूलाई भस्म पार्छ । हाम्रा सबै बहानाहरू हराएर जाऊन्, हाम्रो धार्मिकता जागोस् र हाम्रा पाखण्डहरू फालिऊन् ।” शुभकामना सन्देशमा बाइडेनले भन्नुभयो, “सबैले छुट्टीको मौसममा परिवार र साथीहरूसँग समय बिताउन अवसर मिलोस् । हामी यस समयमा हामीबाट विविध कारणले टाढा भएका जो कोहीको लागि हाम्रो हृदयमा एक विशेष स्थान पनि राखेका छौं । हाम्रो परिवारदेखि तपाईंसम्म, जिल र म तपाईंलाई शान्तिपूर्ण ‘क्रिसमस इभ’को शुभकामना व्यक्त गर्दछौँ ।” “क्यानडाका प्रधानमन्त्री ट्रुडोले पनि ‘आनन्द, स्वास्थ्य, प्रेम र शान्ति’को कामना गर्दै क्रिसमस ट्रीको वरिपरि भेला हुन र सँगै केही समय बिताउन पाउँदा आफू उत्साहित भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “मेरी क्रिसमस! लाखौं क्यानेडियाली जस्तै, मेरो परिवार क्रिसमस ट्री वरिपरि भेला हुन र सँगै केही गुणस्तरीय समय बिताउन उत्साहित छ । हामी नयाँ वर्षको प्रतिक्षामा छौं, हामी तपाईलाई खुशी, स्वास्थ्य, प्रेम र शान्तिको कामना पनि गर्दछौँ ।” यसैगरी, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीसले क्रिसमस वर्षको विशेष समय भएको बताउनुभएको छ । “यो दान गर्ने दिन हो । यो दिन परिवार र साथीहरूसँगै आराम गर्ने दिन हो । अनि थुप्रै अस्ट्रेलियालीहरूका लागि यो एउटा यस्तो दिन हो जुन तिनीहरूको विश्वासको केन्द्रबिन्दु हो । निसन्देह; सबैले आज यसलाई सजिलोसँग लिन सकून् । सबै अष्ट्रेलियालीप्रति क्रिसमसको शुभकामना, मेरी क्रिसमस ।”
Comments