सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित

Bhugolpark

६ पुष, २०७९,०६:०९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ ।

मतदान आज बिहान भएको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको थियो । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएको थियो ।

यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।



208 Views

Comments