संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ ।उहाँले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरू नभएको देखिएकाले सो आग्रह गर्नुभएको बताउनुभएको हो ।
विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरूको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताउनुभएको हो । विश्व आप्रवासन दिवसका अवसरमा उहाँले जारी गरेको सन्देशमा सो कुरा बताउनुभएको हो । उहाँले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरुको संख्यामा पनि बृद्धि भइरहेको जानकारी दिनुभयो । विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने बर्गका आप्रवासीहरूमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरूको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताउनुभयो ।
विश्वमा पछिल्ला वर्षहरूमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरू देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरू अर्काे देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरुको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरुलाई आग्रह गर्नुभएको हो । उहाँले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरूका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरु रहेका देशका सरकारहरूसँग आग्रह पनि गर्नुभएको हो ।
Comments