के चाहन्छन् देउवा ?

Bhugolpark

२६ मंसिर, २०७९,०५:४४

२६ मंसिर, मंसिर । प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरूले पेश गरेको सूची सदर हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार सबै दलले पठाएको सूचीमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । प्रदेशसभातर्फ केही सच्याउनुपर्ने भएकाले दलहरूलाई भोलि (सोमवार) दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार दलहरूले संशोधित सूची पेश गरेपछि समानुपातिकका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गरिने छ । यो सबै प्रक्रिया पुरा गरेर ढिलोमा २९ मंसिरमा राष्ट्रपतिसमक्ष अन्तिम निर्वाचन परिणाम पेश गर्ने निर्वाचन आयोगको तयारी छ ।

नयाँ सरकार गठनका लागि भने अझै केही हप्ता लाग्ने देखिएको छ । २०७४ मा निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएकै दिन केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । सांसदको सपथ नलिई प्रधानमन्त्री भएको भन्दै उनको आलोचना समेत भएको थियो । यो पटक प्रक्रियासम्वत रुपमा जाने नेताहरु बताउछँन् ।

त्यसमाथि कांग्रेस संसदीय दलको निर्वाचन गरेपछि मात्र शक्ति बाँडफाँट गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव छ । त्यसमा गठबन्धनका दलहरू सहमत भएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सञ्चारकर्मीसँग भनेका छन्, ‘कांग्रेस संसदीय दलको नेता टुंगो लागोस्, त्यसपछि (पावर शेयरिङको) विषयमा प्रवेश गरौंला भन्ने सहमति भएको छ ।’

कांग्रेस नेताहरूका अनुसार निर्णय त भइसकेको छैन, तर संसदीय दलको नेता चुन्न पुस दोस्रो साता निर्वाचन हुने सम्भावना छ । किनकी निर्वाचन आयोगले जुन दिन राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउँछ, त्यही दिन सांसदहरूको विवरण संसद सचिवालयमा पठाउँछ । त्यसपछि संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा पठाउने छ ।

जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ लिएपछि अरू सांसदहरूलाई सपथ दिलाउने छन् । संसद सचिवालयका अधिकारीहरूका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जुन दिनका लागि संसद अधिवेशन आहृवान गर्छिन्, त्यसको एकदुई दिनअघि सांसदहरूको सपथ गराइनेछ ।

प्रतिनिधि सभा सदस्यहरुले सपथ लिएपछि बल्ल कांग्रेस संसदीय दलको बैठक बस्ने बाटो खुल्ने छ ।

कांग्रेसले दलको नेता छनोटका लागि प्रतिनिधि खटाउँछ र दलको कार्यालयले उम्मेदवारी दर्ता, मतदानको कार्यक्रम तय गर्छ । कांग्रेसमा दलको नेतामा सर्वसम्मत भएपनि उम्मेदवारी दर्ता लगायतको प्रक्रिया पुरा गर्नुपर्छ । यो पटक सभापति देउवासँगै महामन्त्री गगनकुमार थापाले दलको नेताका लागि दावेदार छन् । कांग्रेसका एक सांसद भन्छन्, ‘पुस मध्यसम्म संसदीय दलको नेता चयन भइसक्ला । त्यसपछि सरकार गठनको प्रक्रिया सुरू हुन्छ ।’

गठबन्धनमा आवद्ध पाँच दलसँग १३४ सांसद छन् । ६ सांसद भएको जनमत पार्टी, ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टीका साथै प्रभु साह, स्वतन्त्र सांसदहरुको समर्थन जुटाउने नेताहरूको प्रयास छ । संसदमा बहुमत जुटाउनुभन्दा शक्ति बाँडफाँट चुनौतीपूर्ण देखिएको गठबन्धनका नेताहरू बताउँछन् ।

हालको निर्वाचन परिणाम हेर्दा जुन दलले सरकार बनाए पनि मिलिजुलि सरकारनै बन्ने देखिन्छ ।हाम्रो भूगोल पार्कले अब बन्ने सरकारबाट सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने अपेक्क्षा गरिएको छ ।



147 Views

Comments