रास्वपामा समानुपातिक क्रमसंख्यालाई लिएर भाँडभैलो

Bhugolpark

२३ मंसिर, २०७९,००:३७

केन्द्रीय समिति बैठक बोलाइयो

काठमाडौँ — प्रतिनिधिसभाको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक तर्फबाट सांसद चयनदेखि सरकारमा सहभागिताबारे पार्टीभित्र विधि मिचिन्छ कि भन्ने आशंका उत्पन्न गरिएको छ ।

समानुपातिक सूचीमा उम्मेदवारको क्रम तय गर्न आन्तरिक निर्वाचन गरेको अवस्थामा निर्वाचन आयोगमा जे बुझाएको छ त्यसैका आधारमा सांसद छान्नुपर्नेमा हेरफेर गर्न लागिएको हो कि भन्ने आशंका रास्वपाकै नेताहरुले गर्न थालेका हुन् । रास्वपाका सुनसरी जिल्ला सभापति तथा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार लालविक्रम थापाले बिहीबार पार्टी केन्द्रीय कार्यालय पुगेर विधि मिच्न नहुने भन्दै नेतृत्वलाई सचेत गराएका छन् । नेपालमा पहिलोपटक उम्मेदवारको छनोट गर्न पार्टीभित्र निर्वाचन गरेको अवस्थामा सांसद बनाउनका लागि सोही क्रमसंख्यालाई अनुशरण गर्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय समिति बैठकले समानुपातिक सांसद तय गर्ने र त्यस क्रममा बन्दसूचीमा तय गरिएको क्रमसंख्या मिचिने हो कि भन्ने उनको आशंका थियो ।

'हाम्रो पार्टीमा टिकट दिँदा एक पैसा पनि लागेको छैन र कसैलाई पनि चिन्नु परेको छैन । त्यसैअनुसार प्रत्यक्षतर्फको चुनाव सकिसकेका छौं । अहिले केन्द्रीय कमिटी मिटिङ बस्दैछ । त्यसमा हाम्रो ध्यानाकर्षण के हो भन्दा नामलिस्ट (बन्दसूची) पठाएका छौं । पार्टीले लिएको लोकसेवामा पास भएका साथीहरूलाई जस्ताको तस्तै सूचीअनुसार सांसद बनाएर पठाउनुपर्छ,' थापाले भने ।

केन्द्रीय समितिले छलफलका नाममा समानुपातिकको नामसूचीको क्रममा तलमाथि गर्न नहुने उनको तर्क थियो । उनी आफूनिकट केही कार्यकर्तालाई लिएर बसुन्धारास्थित केन्द्रीय कार्यालय पुगेका थिए । 'प्राइमरी निर्वाचनबाट तय भएको क्रमअनुसार केन्द्रीय समितिले निर्णय गरोस् भन्ने ध्यानाकर्षण गराएको हो । रोग लाग्नुभन्दा अगाडि नै उपचार गर्न खोजेको हो । डिजिटल डेमोक्रेसीभन्दा बाहिर गयौं भने हामी पनि अरु पार्टीजस्तै हुन्छौं,' उनले पार्टी केन्द्रीय कार्यालयमा भने ।

आफ्ना कुरा पार्टी सभापति रवि लामिछानेलाई पनि बुझाएको थापाले जानकारी दिए । लामिछामेबाट सकारात्मक जवाफ पाएको उनको भनाइ थियो । पार्टीको विधि नमिच्ने र कार्यकर्ताले उठाएका कुरा मान्ने विषय सभापति लामिछानेले राखेको उनले बताए ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले समानुपातिक सांसद चयन र निर्वाचनको समीक्षा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् । उनले शनिबार ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको बताए । 'मतदातालाई धन्यवाद, निर्वाचनको समीक्षा, समानुपातिक सांसद तय गर्न र आगामी दिनमा पार्टी कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको छ,' उनले भने ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ । समानुपातिकतर्फ रास्वपाले १३ सिट प्राप्त गरेको छ । निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई बन्दसूचीअनुसार क्लस्टर मिलाएर समानुपातिकबाट सांसद बन्नेहरूको नाम पठाउन पत्राचार गरेको छ ।

समानुपातिक सूची तय गर्ने जिम्मा केन्द्रीय समितिलाई रहेको भन्दै प्रवक्ता ढकालले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार नै हुने बताए । रास्वपाका केही नेताहरूले समानुपातिक सूचीको क्रमभन्दा बाहिरका मान्छेलाई सामाजिक सञ्जाल र व्यक्तिगतरूपमा समानुपातिकबाट सांसद भएको भन्दै बधाई दिन थालेपछि नेताहरूमा आशंका उब्जिएको हो । त्यस्तो नहोस् भनेर सचेत गराउन आफू केन्द्रीय कार्यालय गएको सुनसरी जिल्ला सभापति थापाले बताए ।

थापाले रास्वपा सरकारमा पनि जान नहुने धारणा राखेका छन् । उनले भने, '२ सय ७५ सिटको लागि भएको चुनावमा २० सिट पायौं । २० सिट पाउनुको अर्थ जनताले अब प्रतिपक्षमा बस्नुपर्छ, सरकारमा जानु हुँदैन भन्ने हो । सरकारमा लानु थियो भने त जनताले बहुमत दिनुहुन्थ्यो । त्यसैले हामी तत्कालै सरकारमा जानु हुँदैन भन्ने कुराको ध्यानाकर्षण गरायौं ।'

रास्वपाभित्र सरकारमा जाने कि नजाने भन्ने विषयमा नेताहरूको फरक-फरक मत रहेको नेताहरूले बताएका छन् । केही नेताले सर्त राखेर सरकारमा जानुपर्छ भनिरहेका छन् भने केहीले अहिले नै सरकारमा जान नहुने र पुराना राजनीतिक दलका नेतृत्वमा कुनै हालतमा सरकारमा जान नहुने भन्दै पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । प्रवक्ता ढकालले भने पार्टीले अगाडि सारेका मुद्दा सम्बोधन भए सरकारमा जाने बताए । उनले भागबन्डाभन्दा पनि जनतासामु गरेका बाचा पूरा गर्ने गरी एजेन्डाका आधारमा सरकारमा जाने/नजाने निर्णय हुने बताए ।

शनिबारको केन्द्रीय समितिको बैठकमा सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल नहुने पनि ढकालले बताए । उनले सरकारमा सहभागिताबारे संसदीय दल गठन भइसकेपछि छलफल गर्ने तयारी भइरहेको बताए ।

पार्टी केन्द्रीय कार्यालयमा सुनसरी जिल्ला सभापति लगायतका कार्यकर्ताको बिहीबार भएको कार्यलाई प्रवक्ता ढकालले पार्टी नबिग्रियोस् भन्नका लागि सचेत गराउने कार्यक्रम रहेको बताए । उनले पार्टीले समानुपातिक सांसद तय गर्नका लागि विधानमा तय गरिएको विधि र पद्धति नमिच्ने बताए ।हिजो नेतालाई खवरदारी गर्ने व्यक्तिको पार्टीहरू भएकोले अरू पार्टीले गर्ने निर्णयभन्दा पार्दशी हुने उक्त पार्टीका कार्यकर्ताको भनाइछ ।



210 Views

Comments