प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीले ल्याएको  सिट संख्या

Bhugolpark

१० बैशाख, २०८१,०६:१४

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आएको छ। प्रत्यक्षतर्फको मतपरिणाम केही दिनअघि आइसकेको थियो। निर्वाचन आयोगले देशैभरबाट समानुपातिकमा दलहरूलाई आएको मतअनुसार सिट निर्धारण गरिदिएको छ।

प्रतिनिधिसभा समानुपातिकतर्फ कुल खसेको सदर मत १ करोड ५ लाख ६० हजार ८२ मध्ये ७ वटा दलले मात्र ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन्। यी सात दल मात्र राष्ट्रिय पार्टी बनेका छन्।

आयोगले मंगलबार राति सार्वजनिक गरेको अन्तिम परिणाममा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ। उसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ।

नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट ल्याएर दोस्रो दल बनेको छ।

प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट गरी ३२ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको छ। नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिटसहित चौथो ठूलो दल बनेको छ। 

प्रत्यक्ष र समानुपातिकमा समान सात–सात सिट जितेको राप्रपा १४ सिटसहित पाँचौँ, प्रत्यक्षमा सात र समानुपातिकमा पाँच सिट पाएको जसपा १२ सिटसहित छैटौँ तथा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिकका सिट गुमाएको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट पाएको छ।

त्यस्तै जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ पाँच गरी ६, थ्रेसहोल्ड कटाउन नसकेका दलहरू लोसपाले प्रत्यक्षमा चार, नागरिक उन्मुक्ति पार्टीले तीन र राष्ट्रिय जनमोर्चाले १ तथा नेमकिपाले १ सिट जितेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका ५ जना प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

प्रदेश सभामा कसैको बहुमत आएन

प्रदेश सभा निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याएनन्।

प्रतिनिधिसभासँगै प्रदेश सभाको पनि सबै नतिजा सार्वजनिक भएको छ। सातै प्रदेशमा गरी ३३० प्रत्यक्ष र २२० समानुपातिकसहित ५५० सिटको टुंगो लागेको छ।

प्रदेश सभातर्फ आयोगले निर्वाचनमा दलहरूले प्राप्त गरेको कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दललाई समानुपातिक सिट बाँडफाँटमा सहभागी गराएको छ। 

३३० क्षेत्रमध्ये १११ क्षेत्रमा जितेको नेपाली कांग्रेसले समानुपातिकबाट ६४ सिट पाएर १७५ सिटसहित समग्र प्रदेशमा पनि सबैभन्दा ठूलो दल बनेको छ। 

यस्तै प्रत्यक्षमा ९१ सिट जितेको नेकपा एमाले समानुपातिकमा ७० सिट जितेर कुल १६१ सिटसहित दोस्रो दल बनेको छ। यस्तै प्रत्यक्षमा ५३ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा २९ सिट थपेर कुल ८२ सिट पुर्‍याएको छ।

स्वतन्त्रसहित १५ दलले चुनाव जितेको प्रदेश सभामा राप्रपा चोथो ठूलो दल भएको छ। उसले प्रत्यक्षमा ११ र समानुपातिकमा १७ सिट गरी २८ सिट जितेको छ।

यस्तै नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १५ र समानुपातिकमा ९ सिट जितेर २४ सांसद पुर्‍याएको छ। जनता समाजवादीले २० सिट जित्दा जनमत पार्टीले १६, लोसपाले १२, नागरिक उन्मुक्ति पार्टीले १२ सिट पाएका छन्।

प्रत्यक्षमा १ सहित नेपाल मजदुर किसान पार्टीले ३ सिट जित्दा लौरो अभियानको हाम्रो नेपाली पार्टीले २ सांसद पाएको छ।

यस्तै प्रदेश सभामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टी र जनमोर्चाले १-१ सांसद पाएका छन्।



217 Views

Comments