राष्ट्रिय प्रजातन्त्र पार्टी
Polls




About Us

राष्ट्रिय प्रजातन्त्र पार्टीको परिचय बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात् राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्त प्रति प्रतिबद्ध रहँदै २०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको हो । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा ३१ वर्ष अगाडि स्थापना भएको थियो। मार्गनिर्देशक सिद्धान्त हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, उदार अर्थ व्यवस्था र परम्परागत मान्यताको जगेर्ना गर्नु रहेको छ। घोषणा-पत्र राप्रपाले केही लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपाले १२ कक्षासम्म नि:शुल्क, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय घोषणापत्रमा राखेको छ । घोषणापत्रमा हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप, गाईभैंसीलाई सुत्केरी भत्तालगायतका विषय पनि राखिएको छ ।  ईतिहास मुलतः हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, उदार अर्थ व्यवस्था र परम्परागत मान्यतालाई कमजोर र धराशयी बनाउने गरि गतिविधिहरु देखिन थालेपछि राष्ट्रिय राजनीतिमा अलग पहिचान सहितको शक्तिको आवश्यकता महशुस गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको हो ।राप्रपा हुर्कदै गर्दा देश माओवादीको हिंसात्मक द्वन्द्वको चपेटामा पर्दै गयो । कांग्रेस एमाले जस्ता संसदवादी राजनीतिक दलहरू सत्ताको अस्वस्थ प्रतिस्पर्धा गर्दै गए । मध्यावधि निर्वाचन पछि संख्यात्मक रुपमा निर्णायक रहेको राप्रपालाई सत्ताको खेलबाट जोगाउन सकिएन । त्यसैबेलादेखि राप्रपाको टुटफुट र विभाजनको श्रृङखला शुरु भयो । हिंसात्मक द्वन्द्वमा रहेका माओवादीले संसदवादी दलहरूलाई आवश्यकता अनुसार उपयोग गर्ने रणनीति लिएकाले तत्कालीन अवस्थामा कुनै पनि दल विभाजन हुनबाट जोगिएनन् । माओवादीको हिंसात्मक द्वन्द्वको आकार बढ्दै गएको र संसदवादी दलको गलत सत्ता अभ्यास र खिचातानी भइरहेको पृष्ठभूमिमा राजाले आंशिक रुपमा २०५९ असोज १८ गते र पूर्ण रुपमा २०६१ माघ १९ गते शासन सत्ता हातमा लिनुपर्यो । राजाको कदमले राजनीति ध्रुवीकृत हुँदै गयो । तत्कालीन अवस्थामा समस्याको रुपमा रहेको माओवादी विद्रोह त्यसबेला पनि साम्य हुन सकेन । पोखरामा राप्रपाको तेश्रो महाधिवेशन भएपछि राजाको कदमलाई हेर्ने दृष्टिकोणमा राप्रपामा समेत मतैक्य हुन सकेन । अध्यक्ष पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा फेरि विभाजन हुन पुग्यो । कमल थापाले २०६२ पुस २६ गते अलग पार्टीको निर्माण गर्नुभयो । भारतको नयाँ दिल्लीमा हिंसात्मक द्वन्द्वमा रहेका माओवादी र तत्कालीन अवस्थामा आन्दोलनमा रहेका सात राजनीतिक दलका बीच भएको १२ बुँदे सम्झौता र त्यहि सम्झौताको जगमा भएको जनआन्दोलनबाट नेपालमा गणतन्त्रको स्थापना भयो । ०४७ मा स्थापना भएको राप्रपा गणतन्त्रको प्रारम्भिक दिनसम्म आइपुग्दा राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टीको रुपमा विभाजित भए । २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाललाई अस्थिर तुल्याइ आफ्नो अभिष्ट पुरा गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल, गठबन्धन र नियोजित षड्यन्त्रहरु सतहमा देखिन थाले । नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो, संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपाली राष्ट्रियताको प्रतिकको रुपमा रहेको राजसंस्थालाई पाखा लगाइयो । हिन्दुराष्ट्र र राजसंस्थालाई नियोजित र योजनाबद्ध ढंगबाट पाखा लगाएपछि नेपालको धार्मिक, सांस्कृतिक पहिचानलाई कमजोर बनाइ आफ्नो सांस्कृतिक प्रभाव विस्तार गर्न चाहने पश्चिमा मुलुकका अन्तरनिहित उद्देश्य संविधानसभाबाट संविधान निर्माणका बखत टड्कारो रुपमा प्रष्फुटित बन्न पुग्यो ।पहिलो संविधानसभा संविधान निर्माण गर्न असफल भएपछि दोश्रो संविधानसभाको निर्वाचन गरि २०७२ असोज २ गते नेपालको संविधान जारी भयो । राप्रपाले अवलम्बन गरेका मुल सैद्धान्तिक विषयलाई नयाँ संविधानले समेट्न सकेन । राप्रपाले संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्ने नीति लियो । संविधान निर्माणपछि हाम्रा राजनीतिक कार्यभारहरु जीवन्त छन् । घटनाक्रमले सम्पूर्ण देशभक्त, राष्ट्रवादी शक्तिहरु एकताबद्ध र संगठित बनाउँदै जानुपर्ने परिस्थिति सिर्जना भयो । ०७३ मंसिरमा कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपाल र पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा बीच एकता भयो । संविधान निर्माणपछिका सबै सरकारमा राप्रपाको सहभागीता फेरि पनि विभाजनको कारण बन्न पुग्यो, त्यो एकता ६ महिना पनि टिकेन । २०७४ मा भएका स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनको ठिक अगाडि पार्टी विभाजन गरेर सुखद र उत्साहजनक परिणाम आउने सम्भावना थिएन, सबै चुनावका परिणाम निराशाजनक रहे । ०७६ फागुनमा फेरि पार्टी एकता भयो । राप्रपा यतिखेर हालै सम्पन्न (०७८ मंसिर १५-१९) एकता महाधिवेशनले निर्देश गरेको राजनीतिक कार्यदिशा कार्यान्वयनको चरणमा रहेको छ । पार्टीको महाधिवेशनले नयाँ नेतृत्वको रुपमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई चयन गरेको छ । परम्परागत नेतृत्वको वर्चस्व रहेको नेपाली राजनीतिक दलमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको विषय बहसमा रहेको भएतापनि राप्रपाले त्यसलाई व्यवहार मै परिवर्तन गरेर परिवर्तनको वाहक शक्तिको रुपमा आफूलाई उभ्याएको छ । राप्रपाको महाधिवेशन पछि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको ध्यान आकर्षित भएको छ । नयाँ नेतृत्व र नयाँ शक्तिको रुपमा उदाएको राजनीतिक दलले अवलम्बन गर्ने नीति, कार्यदिशा र नेतृत्व शैलीबारे सबैको चासो रहनु स्वभाविक पनि हो । जनआन्दोलन, जनआन्दोलनको जगमा संविधानसभा, संविधानसभा मार्फत संविधान निर्माण भएपछि पनि देशमा अन्यौलता र अस्थिरता कायमै छ । केही राजनीतिक दलको अकर्मण्यता, गलत नीति, अदूरदर्शीता र सत्ता लिप्साका कारणले गर्दा नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र एकता संकटमा परेको छ । सामाजिक, सांस्कृतिक सदभाव खलबलिएको छ । अर्थतन्त्र अस्थिर र संकटग्रस्त बनिरहेको छ । यस्तो अवस्थामा राष्ट्रलाई संकटको चक्रव्युहबाट जोगाउने अभिभारा राप्रपाको काँधमा आएको छ । जनताले राप्रपालाई आशा, भरोसाको नजरले हेरिरहेका छन् । महाधिवेशनपछि राप्रपामा विशेषगरी युवाको प्रवेश र आकर्षणले राष्ट्रिय राजनीतिमा राप्रपाको महत्त्व र उपादेयता बढिरहेको प्रष्ट छ । स्वदेश तथा विदेशमा रहेका लाखौं शुभेच्छुकहरु अब राप्रपा कतै अलमलमा नपरोस्, कतै नचुकोस् भन्ने शुभेच्छा प्रकट गरिरहेका छन् । यसले पार्टीलाइ सकारात्मक उर्जा, आत्मबल प्रदान गरिरहेको छ । शुभेच्छुकको शुभेच्छा पार्टीको पुँजीको रुपमा रहेको छ । देश र जनता प्रतिको दायित्वलाई निर्वाह गर्दै मुलुकको सामाजिक आर्थिक रुपान्तरण गर्ने शक्तिशाली संकल्प गर्दछौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा समर्पित हुने अध्यक्ष राजेन्द्र लिङ्देनको संकल्प पार्टीका सबै तहमा अनुशरण गर्नैपर्छ । सबैको रचनात्मक र सकारात्मक सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।