सिलवाल र राणाबीच कडा टक्कर

Bhugolpark

१ मंसिर, २०७९,०७:१४

ललितपुरका तीनवटै क्षेत्रमा भिन्न भिन्न चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धन र नेकपा एमालेबीच ललितपुर क्षेत्र नम्बर–१ मा कडा प्रतिस्पर्धा हुने देखिए पनि क्षेत्र नम्बर २ र ३ को परिवेश बेग्लै देखिएको छ ।

क्षेत्र नम्बर–१ मा पुरानै प्रतिस्पर्धी कांग्रेसका उदय शमशेर राणा र एमालेका तर्फबाट निवर्तमान सांसद नवराज सिलवालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दक्षिणी ललितपुरका रूपमा चिनिने क्षेत्र नम्बर–१ मा ग्रामीणदेखि अर्धसहरी भेग पर्दछन् । ललितपुरका तीनवटै गाउँपालिका महांकाल, कोन्ज्योसोम र बाग्मती यसभित्र पर्दछ भने गोदावरी नगरपालिकाका १२ र १४ नम्बर वडाबाहेक सबै वडा यही क्षेत्रमा पर्छ । तीनवटा गाउँपालिकाबाट उस्तै उस्तै मत आउने अनुमान गरिएको छ ।

यद्यपि, हार जितको निर्णय गोदावरीका केही वडाले गर्ने देखिन्छ । आफू यहीको स्थायी बासिन्दा भएको र आफ्ना एजेन्डा पनि राम्रो रहेकाले चुनाव एमालेकै पक्षमा जानेमा सिलवाल ढुक्क छन् । ‘यो मेरो घर भएकाले यहाँका गाउँ र हरेक व्यक्तिसँग भिजेको छु, उनले भने, ‘अहिलेका मेरा एजेन्डा स्तरीय छन् । गोदावरीमा सुरुका केही दिन कांग्रेसका उम्मेदवार राणाको पक्षमा माहोल भए पनि पछिल्ला केही दिनमा सिलवालप्रति पनि आकर्षण बढेको देखिन्छ । स्थानीय तहको तुलना गर्ने हो भने कांग्रेस निकै नै बलियो देखिन्छ । यद्यपि, स्थानीय तहको चुनाव र अहिलेको चुनाव फरक रहेकाले अनुमान यसै हुन्छ भन्ने अवस्था छैन ।

२०७४ सालको चुनावमा सिलवालसँग नै राणा पराजित भएका हुन् । राणाले २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका वर्षमान पुनसँग पराजित हुँदा २०७० सालमा भने राणाले जितेका थिए । आफ्ना पिता सागर शमशेर राणापछि यही क्षेत्रमा उत्रिएका राणाले दक्षिणी ललितपुर र गोदावरीका केही वडामा राम्रो नतिजा ल्याए पनि यही घर भएका सिलवाललाई पार्टीसँगै स्थानीयको पनि मत आउने अनुमान छ । यहाँ घण्टी चुनाव चिह्न लिएर उठेका डा. सचिन घिमिरेले पनि सुरुवाती चर्चाअनुसारको मत नपाउने देखिएको छ । हाल उनी विभिन्न माग राखेर आमरण अनशनमा छन् । यही क्षेत्रमा राप्रपाले पनि केही मत आफ्नो पक्षमा पार्ने अनुमान छ ।

क्षेत्र नम्बर–१ को प्रदेशसभा तर्फ प्रदेश ‘क’ मा एमाले उम्मेदवार बलियो देखिएका छन् । उनका प्रतिस्पर्धीका रूपमा रहेको गठबन्धनका हरि दाहाल तुलनात्मक रूपमा कमजोर देखिएका छन् । महांकाल गाउँपालिकाका ६ वटा वडा, कोन्ज्योसोम गाउँपालिकाका तीनवटा वडा र गोदावरी नगरपालिकाका ६ वटा वडा यो प्रदेश ‘क’मा छ । गाउँपालिकामा भन्दा नगरपालिकामा पौडेललाई राम्रो मत आउने हुँदा दाहाल कमजोर हुने देखिन्छन् ।

२०६४ र २०७० सालमा गरी दुईपटक संविधानसभाको उम्मेदवार बनेका पौडेल दुवैपटक पराजित बनेका थिए । उनी एकपटक वर्षमान पुनसँग र अर्कोपटक कांग्रेसका उदय राणासँग पराजित भएका थिए । हरि दाहाल पनि २०७० सालको चुनावमा उनै राणासँग पराजित भएका थिए ।

प्रदेश ‘ख’मा पनि एमालेका चेतनाथ संजेल र गठबन्धनका उम्मेदवार मिनकृष्ण मर्हजनबीच कडा टक्कर हुने अनुमान गरिएको छ । बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाबाट निकै राम्रो मत संजेलले ल्याए पनि मर्हजनले गोदावरीका वडाको भोट आफ्नो पक्षमा पार्नेमा बलियो देखिने अनुमान छ । विकासप्रेमी नेताका रूपमा चिनिने संजेललाई खेलकुदको पृष्ठभूमिबाट आएका महर्जनले चुनौती दिइरहेका छन् । अघिल्लो चुनावमा पनि यी दुवैबीच प्रतिस्पर्धा हुँदा संजेलले बाजी मारेका थिए ।

 

ललितपुर–२ को अवस्था के छ ?

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट प्रेम मर्हजन र गठबन्धनका तर्फबाट कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि, संघीय समाजवादीका कृष्णलालभन्दा प्रेम महर्जनको चुनाव जित्ने आधार बन्दै गएको देखिन्छ । कांग्रेसको साथ पाए कृष्णलालले जित्ने र कांग्रेसले साथ नदिए हार्ने देखिएको छ ।

ललितपुर–३ को अवस्था के छ ?

ललितपुर क्षेत्र नम्बर–३ मा गठबन्धनकी उम्मेद्वार पम्फा भुषाल र एमालेबाट अमृत खड्का चुनावी मैदानमा छन् । यद्यपि, वर्तमान ऊर्जामन्त्री एवं माओवादी नेत्री भुषालभन्दा डा. तोषिमा कार्कीको पक्षमा जनमत बढदै गएको देखिन्छ ।उनी यस क्षेत्रमा चुनाव चिह्न घन्टी लिएर  प्रतिस्पर्धामा छिन् ।त्यस्तै व्यवसायी तथा निर्यातकर्ता खड्का बलिया देखिएका छन् । खड्का २०५४ सालमा तत्कालीन सैंबु गाविसको अध्यक्षसमेत बनेका थिए ।



123 Views

Comments