आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि

Bhugolpark

२६ कार्तिक, २०७९,०७:३७

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि रहेको बताउनुभएको छ ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएका उहाँले यसपछि आफूले अब निर्वाचन नलड्ने बताउनुभएको हो । अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आउनुभएको छ । यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहनुभएको छ । मतदाताले विकासको कुरा गर्दा उहाँले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेस तथा मधेसीको हक–अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गर्नुभयो । साथै आफूले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवी– देवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझै पनि गर्दै जाने बताउनुभयो ।


158 Views

Comments