रविको पक्षमा हस्ताक्षर गर्न आउँदा बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ

Bhugolpark

२१ श्रावण, २०८२,१३:०१

२१ साउन, विराटनगर । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला विराटनगरको महेन्द्र चोकबाट पक्राउ परेका हुन् ।


प्रहरीका अनुसार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न आएका बेला उनी पक्राउ परेका हुन् ।


रास्वपाले मंगलबार लामिछानेको पक्षमा महेन्द्र चोकमा हस्ताक्षर संकलन गरेको थियो । कोइराला हस्ताक्षरका लागि पुगेका बेला पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । मुद्दा सुनसरीको भएका कारण मंगलबार नै उनलाई सुनसरी पठाइएको छ । ‘लामिछानेको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका बेला कोइरालालाई पक्राउ गरिएको हो,’ मोरङ प्रहरी स्रोतले भन्यो, ‘त्यसलगत्तै सुनसरी प्रहरीको जिम्मा लगाइएको छ ।’


कोइरालालाई जिल्ला अदालत सुनसरीले गत ३२ असारमा कसुरदार ठहर गरेको थियो । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रूपैयाँ भराउने फैसला पनि भएको थियो । अमेरिका बस्दै आएका कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा गत वैशाखमा पक्राउ परेका थिए । त्यसपछि उनी अदालतले मागेको धरौटी बुझाएर छुटेका थिए । मुद्दा फैसला हुँदा उनी दोषी ठहर भएका थिए ।


83 Views

Comments