बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्ब २८ अर्ब तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ । नेपाल..." />
बैंक तथा वित्तीय संस्थामा ८ खर्ब २८ अर्ब तरलता

Bhugolpark

१६ भाद्र, २०८१,१५:२२

बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्ब २८ अर्ब तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २१ साउन २०८१ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६४ खर्ब ३९ अर्ब निक्षेप संकलन भएको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ५८ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकाअनुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइन्छ । यस्तै बैंकहरूले न्यूनतम २० प्रतिशत खुद तरल सम्पत्ति कायम हुनुपर्छ । हाल बैंक तथा वित्तीय संस्थामा ३० प्रतिशत खुद तरल सम्पत्ति पुगेको छ ।

राष्ट्र बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने प्रावधान बनाएको हुँदा अहिले बैंकसँग थप ८ खर्ब २८ अर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता देखिन्छ ।

मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँले वृद्धि भएको थियो । तर यस अवधिमा उनीहरूको कर्जा प्रवाह भने निक्षेपको तुलनामा आधा २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्र भएको छ । रेमिट्यान्समा देखिएको सुधार,घट्दो आयात र बढ्दो शोधनान्तर स्थितिसँगै चालू खातामा पनि लगातार बचतमा हुँदा बैंकमा निक्षेप लगातार बढेको छ ।

कर्जा प्रवाह हुन नसकी तरलता बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ । बैंकहरूमा निक्षेप थुप्रियपछि राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तानेको छ ।

राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट यतिको रकम झिक्न लागेको हो । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी १२ भदौमा हुनेछ । यसअघि गत १६ साउनमा पनि २१ दिने निक्षेप संकलनका माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तानेको थियो । ५ भदौमा सावाँ तथा ब्याज भुक्तानी हुने यो प्रणालीमा बैंकहरूले औषत २ दशमलव ९९ प्रतिशत ब्याज मागेका थिए ।

२२ साउनसम्म राष्ट्र बैंकले बैंकहरूबाट तानेको र भुक्तानी दिन बाँकी रकम ३ खर्ब ५८ अर्ब रुपैयाँ छ । अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट रकम जिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्नका लागि अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशतभन्दा तल जान लाग्यो भने निक्षेप खिच्ने गर्छ भने अन्तरबैंकिङ ब्याजदर ६ दशमलव ५ प्रतिशतभन्दा माथि जान लाग्यो भने बजारमा रकम पठाउने गर्छ ।

अहिले ‘क’ वर्गका वाणिज्य बैंकहरूले ५७ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा प्रवाह ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै गरेका छन् । यसैगरी अन्य वित्तीय संस्था ७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा प्रवाह ५ खर्ब ९३ अर्ब रुपैयाँ मात्रै गरेका छन् ।


94 Views

Comments