#

सत्यमोहन जोशी अब यस संसारमा हुनुहुन्न। प्रार्थिव शरीर पञ्चमहाभूतमा मिलेर उहाँ अनन्तको यात्रातिर प्रयाण गरिसक्नुभयो। नेपालको भाषा, साहित्य, संस्कृति, पुरातत्त्वको विधाका लागि यो अपुरणीय क्षति हो। एक किसिमले भन्ने हो भने ती क्षेत्रलाई टुहुरा बनाएर आफू अनन्तको यात्रामा विलीन भइदिनुभयो।

बाबु शंकरराज जोशी एवं आमा राजकुमारीको कोखबाट १९७७ साल वैशाख ३० गते पाटनको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीलाई कसरी मात्र चिन्ने ? संस्कृतिविद्, पुरातत्त्वान्वेषी, लोकसंस्कृतिका अध्येता, नेपाली मुद्राका विशेषज्ञ, कर्णालीको लोक संस्कृतिका अन्वेषक, नेवारी संस्कृतिका ज्ञाता आदि इत्यादि के–केबाट! एउटा ज्ञानवृद्ध, वयोवृद्ध र अनुभवले ओतप्रोत महनीय व्यक्तित्वको अभाव देशमा खट्केको कुरालाई स्वीकार्नै पर्छ।

उहाँले इतिहास, संस्कृति, पुरातत्त्वको इतिवृत्त र इतिहास लेख्नुमात्र भएन, पढ्नु मात्र पनि भएन बरु आफ्नो इतिहास रचेर पनि जानुभयो। वास्तवमा जीवनको सार्थकता भन्नु नै अर्काको इतिहास पढ्ने/पढाउने मात्र होइन आफ्नो पनि इतिहास रच्न सक्ने नै अजर, अमर हुन्छ। यसैले नै भनेको होला ‘कीर्तिर्यस्य स जीवति’ अर्थात् कीर्ति हुनेहरू नै यस दुनियाँमा बाँच्छन्। यस अर्थमा उहाँ अजर, अमर हुनुभएको छ।

सत्यमोहन जोशी हाम्रो समयको एक महत्त्वपूर्ण ऐतिहासिक, भाषिक, साहित्यिक एवं सांस्कृतिक धरोहरझैं बनेर रहनुभयो। जीवनभर आफ्नो मातृभाषा नेपाल एवं राष्ट्रभाषा नेपालीको  साधनामा उहाँ निर्लिप्त बन्नुभयो। यसैले नै हो उहाँका अनेक कृतिहरू जनसमक्ष आउन सक्यो। उहाँ संस्कृतिका अन्वेषक, कला र साहित्यका पारखी एवं संस्कृति संरक्षणमा क्रियाशील व्यक्ति हुनुहुन्थ्यो। समयको विभिन्न कालखण्डको सन्दर्भमा हेर्दा उहाँले निरंकुश राणाशासनको युग, श्री ५ त्रिभुवन, महेन्द्रको वीरेन्द्र र ज्ञानेन्द्रको शासन युगको अनेक आरोह अवरोहको द्रष्टा र साक्षी बनेर बेहोर्नु भयो। त्यसपछिको लोकतन्त्र र वर्तमान गणतन्त्रको युग पनि मज्जैले देख्नु भयो/भोग्नु भयो। यस्तो संयोग भनौं वा सौभाग्य विरलै व्यक्तिले पाएका हुन्छन्।

 जीवनमा धेरै कुराको अनुभव गर्न पाउनुभयो। उहाँका नेपाली संस्कृति एवं पुरातत्त्वअन्तर्गतका कृतिका साथै कथा, उपन्यास, नाटक आदि पनि त्यत्तिकै छन्। झन्डै ७० वटाभन्दा बढी कृतिको स्रष्टा हुनुहुन्छ सत्यमोहन जोशी। जीवनभर गरेका अनेकौं रचनात्मक, सिर्जनात्मक र गुणात्मक कार्यहरूको कारण उहाँ व्यक्ति मात्र नभएर एक संस्थाझैं हुनु भयोभन्दा अत्युक्ति हुने छैन। सत्यमोहन जोशी अब हुनुहुन्न। तर, उहाँलाई सम्झदा मनमा उत्रने चित्र सादगीपूर्ण जिन्दगीमा बाँचेको एउटा सज्जन व्यक्ति, जाडो होस् या गर्मी सधैं नेपाली पोसाक दौरासुरुवाल र टोपीमा सजिएको, मुखाकृतिमा लामो अनुभवले गर्दा होला केही सुहाउँदो चाउरीएका रेखा तर केही सोचिरहेजस्तो, केही अभिव्यक्त गर्न चाहेजस्तो त्यो शान्तस्वरूपको आकृति नै जो कोहीको दृश्यपटलमा झुल्किन्छ होला भन्ने लाग्छ अहिले। कुनै कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिको भूमिकामा जाँदा आफ्नो बोल्ने पालो आउँदा सुनाउने दुर्लभ हुँदै गइरहेका अनुभव, ज्ञान, सूक्ष्मदृष्टि, मननीय विश्लेषण, टिप्पणी र मार्गनिर्देश गुरुज्ञानले दर्शकदीर्घामा रहनु हुने श्रोताहरूको मन सजिलै जितेर वाहवाहती पाउनु हुन्थ्यो।

आफू उपस्थित कार्यक्रममा सधैंजसो समयमा पुग्न प्रयत्नरत रहने तथा आफूभन्दा अघि बोल्ने वा प्रस्तुत गर्ने वक्ताको कुरा सुनेपछि प्रशंसा गर्नुपर्ने ठाउँमा प्रशंसा गर्न र कतै गल्ती गरेको भए वा अपर्याप्त स्रोतसामग्रीको कारण निम्नस्तरको प्रस्तुति भए वक्ता वा प्रस्तुतकर्तालाई आफ्नो ज्ञान र तर्कले भलिभाँति सम्झाएर विनयपूर्वक ‘तह’ लगाउन पनि जान्नु भएको कुरा बेला–बेलामा महसुस गर्न पाइन्थ्यो। त्यस्तो अवस्थामा उहाँमा न कुनै अहंता, न आवेग, न कठोर भावको अनुभव श्रोता वा दर्शकले गर्न पाउँथे।

अर्को शब्दमा भन्नु पर्दा कवि शिरोमणि लेखनाथ पौड्यालले भन्नुभएजस्तो– ‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर। फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र।’ कै एउटा उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत हुने उहाँको बानी अरूका लागि पनि प्रेरणादायी हुन्थ्यो। त्यसलाई कतिले ग्रहण गरे, कतिले गरेनन् वा जानेनन् त्यो अर्कै कुरा भयो। मृत्युवरण गर्नु केही हप्ता अगाडिसम्म पनि प्रत्येक दिनजसो कहिले एउटा कहिले दुई/तीनवटा कार्यक्रमहरूमा व्यस्त हुनुहुन्थ्यो। कोभिड–१९ ले अलि तर्सायो र मात्र नभए उहाँको दिन भ्याइ नभ्याइको हुन्थ्यो। हरेक कार्यक्रमहरूमा नवीन दायित्वबोधका साथ क्रियाशील भइरहेको हुन्थ्यो। उहाँको सक्रियता लोभलाग्दो थियो। साँच्चै भनुँ भने हरेक दिन जहाँ–जहाँ जानुहुन्थ्यो, त्यहाँ नव चेतना भरिदिनुहुन्थ्यो आफ्नो ज्ञान, अनुभव र अनुभूतिहरूले। उहाँलाई सम्मान गर्न पाउँदा र आफ्नो कार्यक्रममा आइदिएकोमा धन्य सम्झनेहरूको, कृतज्ञताज्ञापन गर्नेहरूको लर्को वर्षौंदेखि चलिरहेको थियो। अब त्यसमा बिराम लाग्यो।

आयो अब छोटो दिन’ शीर्षकको कविताबाट १९९९ सालदेखि लेखनयात्रा सुरु गर्नुभएको सत्यमोहन जोशी त्यसपछि बाँचुञ्जेल नेपाली एवं नेपाल भाषा/साहित्यको माध्यमबाट विविध विधामा अविरल र अविश्रान्त रूपले लागिरहनु भयो। कुनै बेला काठमाडौं खाल्डोदेखि बाहिर जान/आउन सार्वजनिक यातायातहरूको कठिनाइ मात्र होइन त्यस्ता साधनहरू दुर्लभसमेत भएको बखत राजधानी काठमाडौंका मानिसहरू केही अपवादबाहेक काठमाडौं बाहिर नजाने अवस्था थियो। 

यो आजभन्दा ६७ वर्षअघि अर्थात् २०१२ सालतिर हो। नेपाली लोकगीतः एक अध्ययन, त्यसको एक वर्षपछि नै कर्णाली लोकसंस्कृति जस्ता विषयहरूलाई लिएर खोजीनीति गर्न दुर्गम गाउँठाउँ जान हिम्मत गर्नु पनि सानो कुरा थिएन्। उहाँका नेपाली राष्ट्रिय मुद्रा (२०१७), पुरातत्व एक रोचक कथा (२०१९), कर्णाली लोक संस्कृति (२०२८), नेपाली मूर्तिकलाको विकासक्रम (२०३५), नेपाली धातु मूर्ति विकासक्रम (२०३५) नेपाली चाडपर्व (२०३९), कलाकार अरनिको ( २०४४ ) आदि उहाँका चर्चित पुस्तकहरू हुन्। उहाँका केही नाटक, नियात्रा, निबन्ध, प्रबन्धहरू पनि प्रकाशित भएका छन्।

सरकारी जागीर तात्कालिक औद्योगिक व्यापारिक समाचार संग्रह अड्डाको अधिकृत पदबाट सुरू गरी २०१५ सालमा ३८ वर्षको उमेरमा पुरातत्व विभागको पहिलो निर्देशक हुने अवसर उहाँलाई मिलेको थियो। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य–सचिव भएर पनि उहाँले नेपाली भाषा साहित्यको सेवामा लाग्ने अवसर पाउनुभयो। केही वर्ष चीनको रेडियोमा नेपाली सामाचार वाचक र सम्पादकको रूपमा पनि काम गर्नुभयो।

उहाँले पुरातत्त्व एक रोचक कथाद्वारा नेपाली चेतनालाई ऐतिहासिक आयामद्वारा झक्झकाउने प्रयत्न गर्नुभएको छ। नेपाली मूर्तिकला र काष्ठकला कसरी विकसित भए ? तिनले नेपाललाई विश्वमाझ पर्यटकीय आकर्षण गर्न कस्तो भूमिका खेलेका छन् ? भन्ने जस्ता महत्त्वपूर्ण  सन्दर्भतिर पाठकहरूको ध्यानाकर्षण गर्न खोज्नुभएको देखिन्छ। नेपाली मूर्तिकलाको विकासक्रम भन्ने पुस्तकमा नेपालमा कहिलेदेखि  मूर्तिहरू निर्माण हुन थाले, तिनको शैली, वनोट एवं प्रवृत्तिका बारेमा जानकारी दिन खोजिएको छ। त्यसैगरी नेपालको धातुकलाको विकास क्रममा पनि तिनको निर्माण गर्ने विधिदेखि लिएर शैली र प्रवृत्तिका बारेमा चर्चा गरिएको छ। 
नेपाली समाजको हिजोको सामन्ती स्वभावको निरन्तरताले जन्माएको वर्गीय र शासकीय स्वरूपले वर्तमान समाजमा कस्तो संस्कृतिको विकास गरेको छ भन्ने सन्दर्भमा उहाँको सिपाही र रैती तथा जब घाम लाग्छ जस्ता नाटकका पुस्तकहरू प्रकाशित छन्। 

कलाकार अरनिको नामको उहाँको अनुसन्धानात्मक पुस्तकले अभय मल्लको समयमा चीनको सम्राट कुवलया खाँको निमन्त्रणामा नेपालबाट असी जना कलाकारको टोली लिएर जाने महान् कलाकार राष्ट्रिय विभूति अरनिको (१३०२–१३६३) सालका बारेमा विस्तृत रूपले बुझ्न/बुझाउन सहयोग गर्छ। कथा र उपाख्यानमा सीमित तर नेपालको गौरव उद्बोधित गराउने विषयको इतिहासलाई जनसमक्ष उजागर गराउन त्यस पुस्तकले अहम् भूमिका निर्वाह गरेको छ। यो आवश्य हो उहाँमा गुणैगुण थियो, केही पनि कमीकमजोरीहरू थिएनन् भन्ने होइन। जरुर थिए/छन्। मानिस हो मानिस ‘अच्युत’ हुन सक्दैन केही न केही कमजोरी हुन्छ नै। सही र तात्विक ढंगले समीक्षा, विचारविमर्श, समालोचना, प्रत्यालोचनाको माध्यमबाट चियोचर्चा हुने माध्यम अझै हामीकहाँ बन्न सकेको छैन। शोक विह्वलको यो घडीमा उहाँका कमीकमजोरीहरूको चर्चा सान्दर्भिक पनि हुँदैन ।

 अन्तमा सच्चा राष्ट्रसेवक बनेर नेपाल र नेपालीको गौरव बढाउने काममा जीवनभर समर्पित शिखर व्यक्तित्व सत्यमोहन जोशीको महाप्रयाणको यस घडीमा उहाँको परिवारजनहरूमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै उहाँको ब्रह्मलीन आत्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।


Comments