जसपाका ४ मन्त्री बर्खास्त

Bhugolpark

२८ आश्विन, २०७९,०७:४५

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन्।

जसपाले सत्तारुढ गठबन्धनबाट अलग भई एमालेसँग चुनावी तालमेल गरेपछि उक्त पार्टीका मन्त्रीहरू बर्खास्तीमा परेका हुन्। पदमुक्त हुने मन्त्रीमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई वन तथा वातावरणमन्त्री प्रदीप यादव छन्। 

प्रधानमन्त्री देउवाले संविधानको धारा ७७ () को खण्ड ()बमोजिम पदमुक्त गरी यससम्बन्धी सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दिएका थिए। जसअनुसार राष्ट्रपति भण्डारीले रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमा जनाएका छन्। 

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने भएका छन्। कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आफ्नो पदावधि सकिएपछि राजीनामा दिएका थिए। 

शर्मा गत चैत २४ गते संविधानको धारा ७८ बमोजिम मन्त्री नियुक्त भएका थिए। उक्त धारामा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ। त्यस्ता मन्त्रीले महिनाभित्र संसद्को सदस्य प्राप्त गर्नुपर्ने उल्लेख छ। तर, शर्माले संसद्को सदस्यता प्राप्त गर्न नसकी उनको पदावधि सकिएकाले राष्ट्रपतिले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीको सिफारिसमा मन्त्री कार्कीलाई तोकेको समेत जनाइएको छ।


152 Views

Comments